अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले चीनसँग 'सम्झौता' गरेको बताएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत चीनसँग व्यापार सम्झौता भएको जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘हामी चीनसँग सम्झौतामा पुगेका छौँ, जुन राष्ट्रपति सी र मबीच अन्तिम स्वीकृतिको अधीनमा छ। पूर्ण चुम्बक र धेरै आवश्यक दुर्लभ तत्त्व चीनबाट सुरुदेखि नै उपलब्ध गराइनेछ।’
उनले अगाडि लेखेका छन्, ‘त्यसैगरी हामी चीनलाई सहमति भएका कुरा प्रदान गर्नेछौँ, जसमा हाम्रा कलेज र विश्वविद्यालयमा आउने चिनियाँ विद्यार्थीको कुरा पनि छ (जुन मेरा लागि सधैँ राम्रो कुरा हो)।’
भन्सार महसुलका विषयमा ट्रम्पले लेखेका छन्, ‘हामीले कुल ५५ प्रतिशत कर पाइरहेका छौँ, चीनले १० प्रतिशत। सम्बन्ध धेरै राम्रो छ।’
यसैबीच चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीन-अमेरिका आर्थिक तथा व्यापार परामर्श संयन्त्रको पहिलो बैठक लन्डनमा सम्पन्न भएको बताएका छन्।
उनले एक्समा लेखेका छन्, ‘वार्ताका क्रममा दुई पक्षले स्पष्ट र गहन कुराकानी गरे र चिन्ताको विषय आर्थिक तथा व्यापारिक मुद्दामा विचार आदानप्रदान गरे।’
Shares

प्रतिक्रिया