बेलायतबासी नेपालीहरुद्वारा स्थापित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘समर टेनिस टुर्नामेन्ट’ को शीर्ष उपाधि वारोक राईले हात पारेका छन्।
शनिबार अल्डर्सट स्थित सैनिक छाउनीको टेनिस सेन्टरमा सम्पन्न उक्त प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मिन्स सिङ्गल्स ओपन ए तर्फ को सनसनीपुर्ण फाइनल खेलमा शीर्ष बरियताका वारोक राईले दोस्रो बरियताका तारामान गुरुङ लाई ७–६ (७–३), ६–० को सोझो सेटमा पाखा लगाउँदै च्याम्पियन बनेका हुन्।
पहिलो सेट ५–२ को अन्तरले अग्रता लिएका वारोकलाई चुनौति दिँदै तारामानले ५ बराबर गरे। तारामानको कन्सिस्टेन्ट बेसलाईन ग्राउन्ड स्ट्रोकले वारोकलाई दवाब दिँदै अनफोर्स एरर गर्न बाध्य बनाएका थिए। ६ बराबर गेम भए पछि टाईब्रेकमा वारोकले ७–३ को अन्तरले पहिलो सेट लिए।
पहिलो सेट हात पारे पछि हौसिएका वारोकले दोस्रो सेट सहजता का साथ ६–० को फराकिलो अन्तरमा उपाधी चुमे।
वारोक बेलायतमा जुनियर आईटीएफ खेलाडी हुन् भने तारामान नेपालका पूर्व जुनियर राष्ट्रिय खेलाडी हुन्।
त्यसै गरी प्रतियोगिताको अन्य समूहहरुबीच भएको प्रतिस्पर्धामा मिन्स सिङ्ग्ल्स ओपन बी तर्फको फाईनल खेलमा सुमन लिम्बुले कपिल राईलाई पराजित गरेका थिए भने भेटेरन ए का नमराज गुरुङ्ले तेजमान गुरुङ लाई, भेटेरन बी तर्फ ललित मल्लले भिम राईलाई, नोभाईसका राजेन्द्र गुरुङले प्रदिप थापालाई पराजित गरेका थिए।
त्यसै गरी वुमन्स सिङ्गल्स माया थापाले जानकी राईलाई तथा मिन्स डबल्स तर्फ गज लिम्बु र रुद्र गुरुङको जोडीले खुम थापा र प्रेम राईको जोडिलाई पराजित गरी जित हात परेका थिए। प्रतियोगितामा करिब ७० नेपाली टेनिस खेलाडीहरुको सहभागिता रहेको थियो भने प्रतियोगिताको प्रमुख प्रायोजक घले मोर्ट्गेजले गरेको थियो।
प्रतियोगिताको बिजेता र उप बिजेताहरुलाई क्लबका अध्यक्ष हर्क बहादुर गुरुङले ट्रफि प्रदान गरेका थिए भने पुरस्कार वितरण समारोह क्याप्टेन मोहन गुरुङले सन्चालन गरेका थिए। कार्यक्रमको अवधिभर सामाजिक दूरी समेत कायम गरिएको थियो।
सन् २०१७ मा आधिकारिक रुपमा स्थापना भएको क्लबमा १०७ सक्रीय सदस्यहरु रहेको अध्यक्ष गुरुङले नेपालखबरलाई बताए। आगामी डिसेम्बर महिनामा विन्टर टुर्नामेन्ट आयोजना गरिने समेत क्लबले जानकारी गराएका छन्।
प्रतिक्रिया