ग्लोबल


होर्मुज जलमार्गमा जहाजसँग शुल्क लिने तयारी, ओमानसँग छलफल गर्दै इरानले तोक्यो सीमा

होर्मुज जलमार्गमा जहाजसँग शुल्क लिने तयारी, ओमानसँग छलफल गर्दै इरानले तोक्यो सीमा

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १२:३, काठमाडौँ

इरान र ओमानले होर्मुज स्ट्रेट (जलमार्ग) बाट आउजाउ गर्न जहाजहरूसँग शुल्क लिने व्यवस्था लागु गर्न छलफल गरिरहेका छन्।

न्युयोर्क टाइम्सका अनुसार ‘इरानको नवगठित ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ (पीजीएसए) ले होर्मुज स्ट्रेटको 'व्यवस्थापन पर्यवेक्षण क्षेत्र' तोकिएको बताएको छ। अथोरिटीका अनुसार अब यहाँबाट पार गर्न अनुमति आवश्यक पर्नेछ।’

गत फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले होर्मुज स्ट्रेटमा व्यावसायिक यातायातमा लगभग रोक लगायो, जसका कारण अन्तर्राष्ट्रिय ढुवानीमा असर पर्‍यो र ऊर्जाको मूल्य बढ्यो।

यसपछि इरानका अधिकारीहरूले उक्त जलमार्गबाट ​​राजस्व संकलन गर्ने विकल्पका विषयमा छलफल गर्न थाले। र, अहिले त्यो लागु गर्ने तयारी गरिएको हो। 

उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने होर्मुज स्ट्रेट एक अन्तर्राष्ट्रिय जलमार्ग भएको उल्लेख गर्दै यसमा शुल्क लाग्ने व्यवस्था गर्न नहुने बताइरहेका छन्। 

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले पनि होर्मुज जलमार्गमा शुल्क प्रणाली अस्वीकार्य हुने बताएका छन्।

विश्वको झन्डै २० प्रतिशत समुद्री तेल र प्राकृतिक ग्यास ढुवानी होर्मुज स्ट्रेट भएर गरिन्छ। 

त्यसैले त्यहाँ कुनै पनि शुल्क वा प्रतिबन्धले विश्वव्यापी ऊर्जा बजार र ढुवानीमा असर पर्छ।  

स्ट्रेट अफ होर्मुज : के हो र कहाँ छ?

अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो।

विश्वभर खपत हुने तेलको पाँचौँ हिस्सा र ठुलो मात्रामा ग्यास ओसारपसार हुने जलमार्ग स्ट्रेट अफ होर्मुज एकातिर ओमान र यूएई अनि अर्कातिर इरानको बिचमा पर्छ। 

यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ। साथै स्ट्रेट अफ होर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।

अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार स्ट्रेट अफ होर्मुज हुँदै अधिकांश कच्चा तेल एसिया जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।

युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति यही स्ट्रेट अफ होर्मुजबाट हुन्छ भने विश्वव्यापी एलएनजी आपूर्तिको पाँचौँ हिस्सा यही जलमार्ग भएर जान्छ।

अमेरिका-इजरायल र इरानबिचको युद्ध विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्गमध्ये एक स्ट्रेट अफ होर्मुजसम्म फैलिएको छ।जसका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुज बन्द गर्ने अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्छ र त्यसलाई सरकारले अनुमोदन गर्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad