ग्लोबल


ट्रम्पले अनिश्चितकालका लागि लम्ब्याए इरानसँग युद्धविराम

ट्रम्पले अनिश्चितकालका लागि लम्ब्याए इरानसँग युद्धविराम

नेपालखबर
बैशाख ९, २०८३ बुधबार ८:१२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविरामको अवधि अनिश्चितकालका लागि लम्ब्याएका छन्। 

इरान र अमेरिकाबिच २ साताका लागि भएको युद्धविरामको अवधि आज (अप्रिल २२ मा) सकिँदै थियो।

तर स्थायी शान्तिका लागि पाकिस्तानमा अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेकाले ट्रम्पले युद्धविरामको समय थपिएको घोषणा गरेका हुन्। 

यद्यपि होर्मुज स्ट्रेटमा नाकाबन्दी भने कायमै रहने उनले उल्लेख गरेका छन्। 

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘अपेक्षाअनुसार इरान सरकार आन्तरिक रूपमा विभाजित छ। पाकिस्तानका फिल्ड मार्सल असिम मुनिर र प्रधानमन्त्री सहबाज सरिफले तबसम्म इरानमा आक्रमण रोक्न माग गरेका छन्, तबसम्म उनीहरूका नेता र प्रतिनिधिहरूले साझा प्रस्ताव ल्याउँदैनन्।’

उनले अगाडि लेखेका छन्, ‘त्यसकारण मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य मामिलाका लागि पूर्ण रूपमा तयार रहन आदेश दिएको छु। परिणाम जस्तोसुकै होस्, उनीहरूको प्रस्ताव नआएसम्म र वार्ता पूरा नभएसम्म युद्धविराम लम्ब्याइनेछ।’

यसैबिच युद्धविराम लम्ब्याएकामा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले ट्रम्पलाई धन्यवाद दिएका छन्।

सरिफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म राष्ट्रपति ट्रम्पलाई हृदयदेखि नै धन्यवाद दिन्छु। हाम्रो अनुरोध स्वीकार गर्दै युद्धविराम लम्ब्याउनुभयो ताकि कूटनीतिक प्रयास अगाडि बढ्न सकोस्।’

उनले अगाडि लेखेका छन्, ‘पाकिस्तानले भरोसा र विश्वासका साथ वार्ताबाट समाधान निकाल्ने कोसिस जारी राख्नेछ। मलाई आशा छ- दुवै पक्षले युद्धविराम पालना गर्नेछन् र इस्लामाबादमा हुने दोस्रो चरणको वार्ताबाट दिगो शान्ति सम्झौता हुनेछ र द्वन्द्व सधैँका लागि अन्त्य हुनेछ।’

तर पाकिस्तानका प्रधानमन्त्री सरिफले इस्लामाबादमा दोस्रो चरणको वार्ता कहिले हुन्छ भन्ने कुरा उल्लेख गरेका छैनन्। 

यसअघि वार्ताका लागि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स मंगलबार नै पाकिस्तान प्रस्थान गर्ने भनिएको थियो। तर इरान वार्ता गर्न इच्छुक नभएका कारण तत्काललाई पाकिस्तान जाने कार्यक्रम रद्द गरिएको ह्वाइट हाउसले जनाएको छ। 

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी युद्धको सुरुवात गरेपछि द्वन्द्व मध्यपूर्वभरि फैलिएको थियो। ट्रम्पले युद्धविराम घोषणा गरेयता इजरायल र अमेरिकाले इरानविरुद्ध आक्रमण रोकेका छन्। तर लेबननमा इजरायलले आक्रमण जारी राखेको छ। 

युद्धविराम लेबननमा लागु हुने कि नहुने भन्ने विषयमा विवाद भइरहेको छ। त्यसो त युद्धविरामका बिच पनि ऊर्जा ढुवानीका लागि विश्वकै प्रमुख जलमार्गमध्ये एक होर्मुज स्ट्रेटमा पनि तनाव जारी नै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad