ग्लोबल


पुटिनले घोषणा गरेको युद्धविराम लागु हुनुअघि युक्रेनको ओडिसामा घातक हमला

पुटिनले घोषणा गरेको युद्धविराम लागु हुनुअघि युक्रेनको ओडिसामा घातक हमला

नेपालखबर
चैत २८, २०८२ शनिबार १४:४३, किएभ

अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागु हुन केही घण्टाअघि नै युक्रेनको ओडिसा सहरमा रुसले घातक ड्रोन आक्रमण गरेको छ। जसले शान्ति प्रयासमा गम्भीर प्रश्न उठाएको छ।

शुक्रबार राति भएको उक्त हमलामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।

कृष्ण सागर किनारमा अवस्थित रणनीतिक बन्दरगाह सहर ओडिसामा ड्रोन प्रहार हुँदा आवासीय क्षेत्र नराम्ररी प्रभावित भएको छ।

स्थानीय अधिकारीहरूका अनुसार आक्रमणले अपार्टमेन्ट भवन, निजी घर र एक किन्डरगार्टेनमा क्षति भएको छ, जसले सर्वसाधारणको सुरक्षाप्रति चिन्ता बढाएको छ।

युक्रेनको वायु सेनाका अनुसार रुसले रातभर देशभर १६० वटा ड्रोन प्रहार गरेको थियो।

तीमध्ये १३३ वटा खसालिएका वा निष्क्रिय पारिएका थिए। यो आक्रमण प्रस्तावित ३२ घण्टे इस्टर युद्धविराम लागु हुनुअघि गरिएको हो।

उता रुसको रक्षा मन्त्रालयले पनि आफ्ना क्षेत्रमा युक्रेनले आक्रमण गरेको दाबी गर्दै रातभर ९९ वटा ड्रोन खसालिएको जनाएको छ।

यसले दुवै पक्षबिच तनाव अझ उच्च स्तरमै रहेको संकेत गरेको छ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार इस्टर सप्ताहन्तका लागि ३२ घण्टे युद्धविराम घोषणा गर्दै शनिबार अपराह्न ४ बजेदेखि सबै सैन्य गतिविधि रोक्न निर्देशन दिएका थिए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यस कदमलाई प्रतिबिम्बित गर्न आफ्नो देश तयार रहेको बताएका थिए। तर विगतका अनुभवले यस्तो युद्धविराम प्रभावकारी हुनेमा शंका उत्पन्न भएको छ।

अघिल्ला प्रयासमा दुवै पक्षले एकअर्कालाई उल्लंघनको आरोप लगाएका छन्।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनको घोषणालाई ‘मानवीय पहल’ भनेका छन्, तर दीर्घकालीन समाधानका लागि रुसका प्रमुख माग अझै कायम रहेको उल्लेख गरेका छन्। 

यसबिच इस्टरको अवसर पारेर कैदी आदानप्रदानको सम्भावनाबारे पनि छलफल भइरहेको छ।

रुसकी मानवअधिकार लोकपाल तात्याना मोस्काल्कोभाले दुवै पक्ष यस विषयमा काम गरिरहेको बताएकी छन्। 

नियमित कैदी आदानप्रदानलाई मस्को र किएभबिचको लामो समयदेखिको तनावपूर्ण सम्बन्धमा दुर्लभ सकारात्मक पक्षका रूपमा हेरिएको छ।

अमेरिकाको मध्यस्थतामा भएका वार्ताबाट अहिलेसम्म ठोस प्रगति हुन सकेका छैनन्।

युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसकेको अवस्थामा मूल विवाद अझै समाधान नहुँदा स्थायी शान्तिको सम्भावना अनिश्चित देखिएको छ।(रासस/एपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad