ग्लोबल


इरानसँग वार्ता गर्न पाकिस्तान प्रस्थान गरेका अमेरिकी उपराष्ट्रपति सवार विमान पेरिसमा रोकियो

इरानसँग वार्ता गर्न पाकिस्तान प्रस्थान गरेका अमेरिकी उपराष्ट्रपति सवार विमान पेरिसमा रोकियो

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स


नेपालखबर
चैत २८, २०८२ शनिबार १०:५३, काठमाडौँ

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स इरानसँग शान्ति वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाकिस्तान आइपुग्दै छन्।

बीबीसीका अनुसार उनको विमान एयर फोर्स टु इन्धन भर्न फ्रान्सको राजधानी पेरिसमा रोकिएको छ। 

शुक्रबार साँझ पाकिस्तान प्रस्थान गर्नुअघि भान्सले पत्रकारहरूलाई भने, ‘यदि इरान राम्रो विश्वासका साथ वार्ता गर्न इच्छुक छ भने हामी पनि खुला हृदयले अगाडि बढ्न इच्छुक छौँ।’

तर सँगसँगै उनले चेतावनी पनि दिए, ‘यदि उनीहरूले हामीलाई मूर्ख बनाउने कोसिस गरे भनेचाहिँ थाहा पाउनेछन्- (अमेरिकी) वार्ता टोली त्यति सहज छैन।’

गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेका अमेरिका र इरानबिच आज पाकिस्तानको इस्लामाबादमा शान्ति वार्ता हुन लागेको हो। 

यसका लागि इरानी प्रतिनिधिमण्डल भने इस्लामाबाद आइसकेको छ।

इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दारलगायतले देशको नुर खान विमानस्थलमा स्वागत गरेका छन्। 

इरानका अनुसार इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन्।

वार्ता टोलीमा इरानका विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषद् सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासेर हेम्मती र इरानी संसद्का सदस्य पनि छन्।

उता अमेरिकी वार्ता टोलीको नेतृत्व भने अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले गर्दै छन्। 

यसैबिच इरानका सभामुख मोहम्मद बागेर गालिबाफले वार्ताका लागि लेबननमा युद्धविराम र इरानको फ्रिज गरिएको सम्पत्ति फिर्ता गरिनुपर्ने सर्त राखेका छन्।

उनले भनेका छन्, ‘यी दुवै कुरा पहिले नै सहमति भइसकेको छ तर अझै कार्यान्वयन भएको छैन।’

गत मंगलबार राति अमेरिका र इरानबिच २ साताका लागि युद्धविरामपछि पनि इजरायलले लेबननमा भीषण हवाई हमला गरिरहेको छ।

जसले गर्दा इरान र अमेरिकाबिच युद्धविराम लेबननमा पनि हो वा होइन भन्ने विषयमा विवाद भइरहेको छ। 

यसैबिच शुक्रबार लेबननको राष्ट्रपति कार्यालयले दक्षिणी सहर नाबाटियाहमा इजरायलले आक्रमण गर्दा १३ सरकारी सुरक्षाकर्मी मारिएको बताएको छ।

यसअघि बुधबारको आक्रमणमा २ सयभन्दा बढी मानिस मारिएको र हजारभन्दा बढी व्यक्ति घाइते भएको लेबननले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad