राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो अस्थिर र अप्रत्याशित छविको खुब गुणगान गाउँछन्। यसले मित्र र शत्रु दुवैलाई द्विविधाग्रस्त अवस्थामा राख्ने उनको भनाइ छ। १३ महिनाअघि इरानका आणविक केन्द्रहरूमा बम प्रहार र गत जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई आफ्नै ओछ्याउनबाट उठाउने कदमको उनी आफैँले बढाइचढाइ बखान गर्दै आएका छन्।
त्यस्ता सैन्य कारबाही गर्न आफूअघिका राष्ट्रपतिहरू हिच्किचाउने उनले दाबी गरेका थिए। संसारको सबैभन्दा ठूलो शक्ति भएकाले आफूलाई ‘आफ्नै नैतिकताले मात्र’ रोक्न सक्ने उनको भनाइ थियो।
तर पछिल्लो समय उनी आफैँ पासोमा फसेजस्तो देखिएका छन्। किनकि इरान युद्धमा फसेका उनी निकास नभेटेर अत्तालिएका देखिन्छन्। इरान युद्ध सुरु गर्दा सोच्न पनि नसकेको आफ्नो शक्तिको सीमितता उनी यतिखेर महसुस गरिरहेका छन्।
उनले फेब्रुअरी २८ मा तुरुन्तै इरानको सत्ता ढाल्ने र उसको आणविक कार्यक्रम समाप्त पार्ने लक्ष्यले हमला गरेका थिए। पाँच महिना बितिसक्दा ती लक्ष्यहरू पूरा भएका छैनन्। त्यतिबेला आत्मविश्वासले भरिएर ‘भेनेजुएला मोडेल’ पछ्याउँदै इरान आक्रमण सुरु गरेका उनी यसपालि ठूलो सैन्य कारबाही गर्न हिच्किचाइरहेका छन्।
१३ दिनको लगातार आक्रमणपछि इरानमाथिको हमला रोकिएको बताइएको छ। मध्यपूर्वमा अमेरिकी सेनाको नेतृत्व गरिरहेका एड्मिरल ब्राड कुपरले हर्मुज जलमार्ग वरपर बम नहान्न सुझाव दिएका छन्। एक्सियोसका अनुसार बमबारीले गर्नुपर्ने जति प्रभाव पारिसकेको र त्यसले अब कुनै फरक नपार्ने देखेपछि शुक्रबारबाट बमबारी रोकिएको हो।
त्यसअघि ट्रम्पले आफ्ना प्रमुख सल्लाहकार र सैन्य अधिकारीहरूसँग छलफल गरेका थिए।
पछिल्लो समय बढ्दो तेलको भाउ र त्यसले सेयर बजारमा पारेको प्रभाव नियन्त्रण गर्न पनि ट्रम्प असफल देखिएका छन्। हर्मुज जलमार्ग मात्र होइन, लाल सागरको मार्ग पनि खतरामा परेको छ।
यसले ट्रम्प निकै निराश भएको र छटपटीमा देखिएको उनका सहयोगीहरूलाई उधृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ।
हालै ट्रम्पका ऊर्जामन्त्रीले साउदी अरबसँग गैरसैनिक आणविक सम्झौता गरे। तर, २४ घण्टा नबित्दै ट्रम्पले अब्राहम सम्झौतामा सहभागी भएर इजरायललाई मान्यता नदिए सम्झौता रद्द हुने घोषणा गरे।
भोलिपल्ट उनले क्यानडासँगको ४.५ अर्ब डलरको गोर्डी हाउ इन्टरनेसल ब्रिजको पुरानो सम्झौता रद्द भएको घोषणा गरे। यसअघि गरेको सम्झौता उल्लंघन गर्दै क्यानडाका अनेकौँ सामानमा ५० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरे।
हाल अलोकप्रिय हुँदै गएका ट्रम्पलाई २९ प्रतिशत अमेरिकीले मात्र समर्थन गर्ने पछिल्लो एक सर्वेक्षणले देखाएको छ।
यतिखेर इरानलाई लिएर ट्रम्पसँग तीन वटा विकल्प देखिन्छन्। सैन्य कारबाही बढाउने, आर्थिक नाकाबन्दी लगाउने वा विजय घोषणा गरेर घर फर्किने। यी तीनै विकल्पबारे पछिल्ला साताहरूमा उनले उपराष्ट्रपति जेडी भान्स, रक्षामन्त्री पिट हेगसेथ, सेनाप्रमुख जर्नेल ड्यान केन, ज्वाइँ जारेड कुस्नर र विशेषदूत स्टिभ विट्कोफसँग छलफल गरिरहेका छन्।
तर, तीनै विकल्प अप्ठेरा छन्।
भीषण बमबारी गरेर बिजुली, पुल ध्वस्त पार्दा इरान वार्तामा आउँछ कि आउँदैन भन्नेमा बहस भएको छ। तर, त्यसले ठूलो संख्यामा आम मान्छेको ज्यान जाने जोखिम त छँदैछ। अर्कोतिर, इरानी हमलाबाट जोगिन अमेरिकासँग पर्याप्त प्रतिरोधी क्षेप्यास्त्रहरू छैनन्। अहिले आक्रमण रोक्नुको मुख्य कारण यो पनि भएको बताइन्छ।
दोस्रो विकल्प आर्थिक नाकाबन्दी हो। इरानको तेलमा नाकाबन्दी गर्दा त्यसको प्रभाव पर्ने देखिन्छ। तर, त्यसको असर ढिला देखिन्छ। ट्रम्पले २०१८ मै इरानको अर्थतन्त्र पतन हुने दाबी गरेका थिए। आठ वर्षपछि पनि इरान जीवित छ। त्यस्तो नाकाबन्दी लामो समय टिकाउन खर्चिलो हुन्छ। त्यसमाथि खाडीमा अमेरिकी सैनिकहरूको ज्यान पनि सदा खतरामा रहन्छ।
तेस्रो विकल्प विजय घोषणा गरेर बाहिरिने हो। एक महिनाअघि उनी त्यही चाहन्थे। तर, त्यो पनि महँगो विकल्प हो। किनकि प्रशोधित युरेनियम र हर्मुज जलमार्ग दुवै इरानको नियन्त्रणमा रहनेछ। जसले गर्दा यत्रो आक्रमणपछि पनि ट्रम्प कुनै पनि समस्या समाधान गर्न असफल देखिनेछन्।
यसले उनको शक्तिको सीमितता थप पुष्टि गर्नेछ, जसलाई उनले जनवरीमा ‘असीमित’ दाबी गरेका थिए। एजेन्सी
Shares

प्रतिक्रिया