ग्लोबल


इरान युद्धका बिच सेना प्रमुख परिवर्तन गर्दै अमेरिका

इरान युद्धका बिच सेना प्रमुख परिवर्तन गर्दै अमेरिका

अमेरिकाका सेना प्रमुख र्‍यान्डी जर्ज


नेपालखबर
चैत २०, २०८२ शुक्रबार १०:३३, काठमाडौँ

अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले देशका सेना प्रमुख (आर्मी चिफ अफ स्टाफ) र्‍यान्डी जर्जलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। 

पेन्टागन (रक्षा विभाग) का मुख्य प्रवक्ता सन पार्नेलले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा ‘जर्ज अमेरिकी सेनाको ४१औँ चिफ अफ स्टाफ पदबाट तुरुन्तै अवकाश लिँदै छन्’ लेखिएको छ। 

यद्यपि उनलाई किन पद त्याग्न भनियो भन्ने कुरा अझै स्पष्ट भएको छैन।

नाम नछाप्ने सर्तमा रक्षा विभागका एक वरिष्ठ अधिकारीले सीबीएससँग भनेका छन्, ‘हामी उनको सेवाका लागि आभारी छौँ, तर सेनामा नेतृत्व परिवर्तन गर्ने समय आएको छ।’

पेन्टागनका प्रवक्ता पार्नेलले भनेका छन्, ‘युद्ध विभाग जनरल जर्जको दशकौँको सेवाका लागि कृतज्ञ छ। हामी उनको अवकाशपछिको जीवनका लागि शुभकामना दिन्छौँ।’

अमेरिकी सञ्चारमाध्यमका अनुसार अब सेनाका उपप्रमुख जनरल क्रिस्टोफर लानेभले कार्यवाहक सेना प्रमुखका रूपमा काम गर्नेछन्।

पार्नेलले भनेका छन्, ‘उनी दशकौँको अपरेसन अनुभव भएका युद्ध-परीक्षित नेता हुन्।’

पार्नेलले रक्षामन्त्री हेगसेथले यसलाई कार्यान्वयन गर्ने विश्वास पनि व्यक्त गरेका छन्। 

अमेरिकामा सेना प्रमुखको कार्यकाल सामान्यतया चार वर्षको हुन्छ।

र्‍यान्डी जर्जले वेस्ट पोइन्ट मिलिटरी एकेडेमीमा पढेका थिए।

उनलाई तत्कालीन राष्ट्रपति जो बाइडेनले २०२३ मा यो पदमा छनोट गरेका थिए।

अमेरिकामा हेगसेथ रक्षामन्त्री बनेयता नौसेना अपरेसन प्रमुख र वायुसेनाका उपप्रमुख स्टाफसहित एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारी हटाइएका छन्। 

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई हमला गरेपछि सुरु भएको युद्ध अझै जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।

जसमा परी मारिएकाको संख्या ५ हजार नाघिसकेको रिपोर्ट सार्वजनिक भएको छ।

रोयटर्सका अनुसार यो जानकारी विभिन्न एजेन्सीको पछिल्लो तथ्यांकमा आधारित छ।

सबैभन्दा बढी मानिस इरानमा मारिएका छन्। 

हेर्नुहोस् तथ्यांक 

इरान : ३,५१९ जना मारिए 

अमेरिकास्थित मानव अधिकार संगठन एचआरएएनएका अनुसार इरानमा मारिएकाहरूमा कम्तीमा २४४ बालबालिकासहित १ हजार ५९८ आम नागरिक छन्।

लेबनन : १,३१८ जना मारिए

लेबननी अधिकारीहरूका अनुसार मारिएकाहरूमा १२४ बालबालिका छन्। इजरायलले मार्च २ मा लेबननमा आक्रमण सुरु गरेको थियो। जसमा अहिलेसम्म ४०० भन्दा बढी हेजबुल्लाह लडाकु मारिएका छन्।

छुट्टाछुट्टै हमलामा कम्तीमा ९ जना लेबननी सैनिक मारिएका छन् र संयुक्त राष्ट्रसंघ शान्ति सेनाका तीन जनाको पनि मृत्यु भएको छ। तीनै जना सैनिक इन्डोनेसियाली थिए।

इराक : कम्तीमा १०७ जना मारिए

इराकी स्वास्थ्य अधिकारीहरूका अनुसार मारिएकाहरूमा सर्वसाधारण, इरान-समर्थित सिया पपुलर मोबिलाइजेसन फोर्सका सदस्य, अमेरिका-समर्थित कुर्दिस पेसमेर्गा लडाकु, प्रहरी र सेनाका कर्मचारी छन्।

इराकी बन्दरगाहनजिकै ट्यांकरमा भएको आक्रमणमा चालक दलका एक विदेशी सदस्यको पनि मृत्यु भएको छ। आतंकवादविरोधी तालिम प्रदान गर्ने एक फ्रान्सेली सैनिक पनि ड्रोन आक्रमणमा मारिएका छन्।

इजरायल : १९ जना मारिए 

इजरायलको एम्बुलेन्स सेवाका अनुसार इरान र लेबननबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबननमा आफ्ना १० जना सैनिकको पनि मृत्यु भएको बताएको छ। साथै मार्च २२ मा इजरायली सैनिकले गल्तीले गोली चलाउँदा सीमानजिकै एक इजरायली किसानको मृत्यु भएको थियो।

अमेरिका : १३ जना मारिए 

अमेरिकी सेनाका अनुसार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इरानमा अपरेसनका क्रममा अन्य ७ सैनिकको मृत्यु भएको छ।

खाडी क्षेत्र

संयुक्त अरब इमिरेट्स (यूएई) मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad