ग्लोबल


इरानको आईआरजीसीलाई ‘आतंकवादी संगठन’ घोषणा गर्‍यो अर्जेन्टिनाले

इरानको आईआरजीसीलाई ‘आतंकवादी संगठन’ घोषणा गर्‍यो अर्जेन्टिनाले

नेपालखबर
चैत १८, २०८२ बुधबार १५:७, काठमाडौँ

अर्जेन्टिना सरकारले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) लाई ‘आतंकवादी संगठन’ घोषणा गरेको छ।

बीबीसी फारसीका अनुसार राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै न्यायिक अनुसन्धान र सुरक्षा मूल्यांकनका आधारमा यो निर्णय गरिएको बताएको छ।

आईआरजीसीका सैनिक

आईआरजीसीलाई ती संस्थाको सूचीमा राखिनेछ, जुन ‘आतंकवादी गतिविधि र त्यसको कोष’सँग जोडिएका छन्।

अब आईआरजीसीलाई अर्जेन्टिनाको भूमिमा वित्तीय प्रतिबन्ध लगाइनेछ।

अर्जेन्टिनाका अधिकारीहरूले यो कदम ‘आतंकवाद र संगठित अपराध’विरुद्ध लड्ने नीतिको अंश भएको बताएका छन्।

अर्जेन्टिनाले १९९० को दशकमा भएका दुई घातक आक्रमणमा इरान र यससम्बद्ध समूहलाई संलग्न भएको आरोप लगाएको लगाएको छ।

के हो आईआरजीसी?

इरानी क्रान्तिको सफलतापछि सन् १९७९ मा स्थापना भएको आईआरजीसी इरानको सशस्त्र समूह हो।

देशमा इस्लामिक प्रणालीको रक्षा गर्ने उद्देश्यले गठित यसले मूलतः इरानको नियमित सेनाको विकल्पका रूपमा काम गर्छ।

आईआरजीसीबारे अमेरिकी थिंक ट्यांक काउन्सिल अन फरेन रिलेसन्स लेख्छ, ‘यसले देशको शक्ति, आन्तरिक सुरक्षा र अर्थतन्त्रको प्रक्षेपणमा केन्द्रीय भूमिका खेल्छ। १९७९ को क्रान्तिपछि इरानको धार्मिक नेतृत्वले परम्परागत सशस्त्र सेनाप्रति अविश्वास व्यक्त गर्दै यसको समानान्तर र सन्तुलनका रूपमा आईआरजीसीको स्थापना गरिएको हो। आज यसले सर्वोच्च नेतालाई सिधै रिपोर्ट गर्छ र समयसँगै यसको आकार र अधिकारमा उल्लेखनीय रूपमा वृद्धि भएको छ। यो गठनको उद्देश्य नयाँ शासनलाई कुनै पनि विद्रोहबाट जोगाउनु हो।’

लन्डनस्थित चथम हाउस इन्टरनेसनल अफेयर्स थिंक ट्यांकका सदस्य डा. सनम विकलका अनुसार, ‘यो सुरुमा एउटा सानो सैन्य समूह थियो, तर आज यो धेरै ठूलो संगठनमा परिणत भएको छ।’

इरानको यो विशेष फौजको आफ्नै स्थल, नौसेना र वायुसेना छ। यो संगठनसँग १ लाख ९० हजार सदस्य रहेको अनुमान गरिएको छ।

यसले इरानको बलिस्टिक क्षेप्यास्त्र र परमाणु कार्यक्रम सञ्चालन गर्छ।

आईआरजीसीले रक्षा, इन्जिनियरिङ र निर्माण क्षेत्रका कम्पनीसहित एक ठुलो व्यापारिक साम्राज्य पनि निर्माण गरेको छ। यसले इरानको अर्थतन्त्रको लगभग एकतिहाइ हिस्सा ओगटेको विश्वास गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad