अमेरिकी विमानवाहक जहाज 'यूएसएस जर्ज एचडब्ल्यू बुस' मध्य पूर्वतिर अघि बढिरहेको छ। बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजले उक्त जानकारी दिएको हो।
यूएसएस जर्ज एचडब्ल्यू बुसले ८० भन्दा बढी विमान बोक्न सक्छ।
बीबीसी फारसीका अनुसार दुई गाइडेड-मिसाइल विनाशक, यूएसएस डोनाल्ड कुक र यूएसएस मेसन पनि यस हप्ता इरानमा अमेरिकी अपरेसनमा सामेल हुन अमेरिकी तटबाट प्रस्थान गरेका छन्।
अमेरिकी अधिकारीहरूले सीबीएससँग भनेका छन्, ‘यो विशाल जहाज र यसको कार्यदलले तैनाथी प्रशिक्षण पूरा गरिसकेको छ र अब इरानमा अमेरिकी अपरेसनमा सामेल हुन तयार छ।’
अर्को जहाज यूएसएस रस पनि यसै हप्ता अमेरिकाबाट प्रस्थान गरेको बताइएको छ। तर यसको गन्तव्य भनिएको छैन।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता इरानले अमेरिकी आधार रहेका खाडीका मुलुकमा आक्रमण गरिरहेको छ। जसका कारण एक महिनादेखि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
Shares

प्रतिक्रिया