अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक हतियार नराख्न सहमत भएको दाबी गरेका छन्।
मंगलबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले दुई देशबीच वार्ता जारी रहेको र इरानले सम्झौता चाहेको जिकिर गरेका हुन्।
उनले भने, 'हाम्रो पहिलो सर्त भनेको इरानले आणविक हतियार नबनाओस् भन्ने हो, जसमा सहमति बनेको छ।'
ट्रम्पले अमेरिकाले युद्ध जितेको दाबी पनि गरे।
उनले भने, 'इरानका नौसेना, वायुसेना र राडार प्रणाली काम नलाग्ने अवस्थामा छन्। अमेरिकी विमान तेहरानमाथि उडिरहेका छन् र अमेरिका जे चाहन्छ, त्यो गर्न सक्छ।
तर इरानले अहिलेसम्म अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता भएको कुरा अस्वीकार गरिरहेको छ।
यसअघि न्युयोर्क टाइम्सले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले ट्रम्पलाई इरानमा आक्रमण जारी राख्न आग्रह गरेको दाबी गरेको थियो।
ट्रम्पले अमेरिका र इरानबिच हालै भएको वार्तामा १५ वटा विषयमा सहमति भएको दाबी गरेका छन्। तर यसको पूर्ण सूची सार्वजनिक गरिएको छैन।
उनले इरानका पावर प्लान्टमा आक्रमण पाँच दिनका लागि स्थगन गरेका छन्। यसअघि आइतबार भने उनले होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका थिए।
तर इरानको विदेश मन्त्रालयले कुनै वार्ता नभएको बताएको छ।
यसैबिच इजिप्ट र टर्कियासँगै पाकिस्तानले इरान र अमेरिकाबिच मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्।
पाकिस्तानी पत्रिका डनको रिपोर्टअनुसार पाकिस्तानी सेना प्रमुख असिम मुनिरले आइतबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेका छन्।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
Shares

प्रतिक्रिया