ग्लोबल


खाडी तथा दक्षिण एशियाली देशमा सञ्चार अवरुद्ध हुने त्रास

खाडी तथा दक्षिण एशियाली देशमा सञ्चार अवरुद्ध हुने त्रास

नेपालखबर
चैत ९, २०८२ सोमबार १६:५५, काठमाडौँ

इरानले आफ्नो तटीय क्षेत्र वा टापुहरूमा आक्रमण भए पर्शियन खाडीका सबै सञ्चार मार्गहरूमा बारूदी सुरुङ बिछ्याउने चेतावनी दिएको छ। अमेरिकाले ४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज नखोलिए इरानका ऊर्जा पूर्वाधारहरूमा आक्रमण गर्ने चेतावनी दिएपछि इरानले यस्तो धम्की दिएको हो।

इरानको यो धम्की यथार्थमा परिणत भए मुख्यतः इरान, इराक, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार जस्ता खाडी राष्ट्रहरू तथा दक्षिण एशियाली देशहरूमा सञ्चार अवरुद्ध हुने त्रास फैलिएको छ।

यी देशहरूको इन्टरनेट सेवा समुद्रमुनि बिछ्याइएका ‘फाइबर केबल’हरूमा निर्भर छन्। यही केबलमार्फत यी क्षेत्रहरू यूरोप तथा अन्य देशहरूसँग इन्टरनेट सञ्जालमा जोडिएका छन्। यद्यपि इन्टरनेटका लागि यी केबलहरू मात्र नभई अन्य वैकल्पिक मार्गहरू पनि भएकाले पूर्ण रूपमा अवरुद्ध हुने सम्भावना भने कम छ। पछिल्लो २४ घण्टामा इरानी सैन्य तथा सुरक्षा अधिकारीहरूले देशका ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्न चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले स्ट्रेट अफ हर्मुज खोल्न अस्वीकार गरेमा त्यस्ता आक्रमण गर्न सक्ने धम्की दिएका थिए।

इरानको राष्ट्रिय रक्षा परिषद्ले जारी गरेको विज्ञप्तिमा ‘इरानी तट वा टापुहरूमा आक्रमण गर्ने कुनै पनि प्रयास भए पर्शियन खाडीका सबै सञ्चार मार्गहरूमा बारूदी सुरुङ बिछ्याइने’ उल्लेख गरिएको छ। विज्ञप्तिमा युद्धमा संलग्न नभएका देशहरूले इरानसँग समन्वय गरेर मात्र हर्मुज मार्ग पार गर्न सक्ने पनि बताइएको छ।

ट्रम्प र स्टार्मरबीच वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री केयर स्टार्मरबीच स्ट्रेट अफ हर्मुज खुलाउने विषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।यद्यपि इरानले बन्द गरिरहेको यो मार्ग कसरी खुलाउने भन्नेबारे उनीहरूबीच के–कस्ता उपाय अपनाउने सहमति भयो भन्ने खुलाइएको छैन।

बिबिसीका अनुसार विश्वभर देखिएको ऊर्जा संकट टार्न हर्मुज मार्ग खुला गर्नुको विकल्प नभएकोमा दुवै नेता सहमत भएका छन्। दुवैबीच पुनः छलफल गर्ने समझदारी पनि भएको बताइएको छ।अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि विश्वको करिब २५ प्रतिशत तेल र २० प्रतिशत ग्यास आपूर्ति हुने यो मार्ग इरानले बन्द गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad