ऊर्जा ढुवानीका लागि विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका प्रधानमन्त्री किअर स्टार्मरसँग फोनमा कुरा गरेका छन्।
डाउनिङ स्ट्रिटका प्रवक्ताका अनुसार दुई नेताले मध्यपूर्वको वर्तमान अवस्था, विशेष गरी विश्वव्यापी ढुवानी पुनः सुरु गर्न होर्मुज स्ट्रेट खोल्ने आवश्यकताबारे छलफल गरेका छन्।
उनले भनेका छन्, ‘विश्वव्यापी ऊर्जा बजारमा स्थिरता सुनिश्चित गर्न होर्मुज स्ट्रेट पुन: खोल्नु जरुरी रहेकामा दुवै नेता सहमत भएका छन्।’
प्रवक्ताले ट्रम्प र स्टार्मरबिच चाँडै फेरि संवाद हुने जानकारी पनि दिएका छन्।
ट्रम्पले आइतबार बिहान इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समय सीमा दिएका छन्। अन्यथा इरानका ऊर्जा स्थलमा भीषण आक्रमण गरिने चेतावनी दिएका छन्। जसअनुसार ट्रम्पले दिएको अल्टिमेटम सकिन अब एक दिन मात्र बाँकी छ।
तर इरानले आफ्ना ऊर्जा स्थलमा आक्रमण गरिए प्रतिकार गरिने चेतावनी दिइरहेको छ।
स्ट्रेट अफ होर्मुज : के हो र कहाँ छ?
अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो।
विश्वभर खपत हुने तेलको पाँचौँ हिस्सा र ठुलो मात्रामा ग्यास ओसारपसार हुने जलमार्ग स्ट्रेट अफ होर्मुज एकातिर ओमान र यूएई अनि अर्कातिर इरानको बिचमा पर्छ।
यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ। साथै स्ट्रेट अफ होर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार स्ट्रेट अफ होर्मुज हुँदै अधिकांश कच्चा तेल एसिया जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।
युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति यही स्ट्रेट अफ होर्मुजबाट हुन्छ भने विश्वव्यापी एलएनजी आपूर्तिको पाँचौँ हिस्सा यही जलमार्ग भएर जान्छ।
अमेरिका-इजरायल र इरानबिचको युद्ध विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्गमध्ये एक स्ट्रेट अफ होर्मुजसम्म फैलिएको छ।जसका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुज बन्द गर्ने अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्छ र त्यसलाई सरकारले अनुमोदन गर्नुपर्छ।
Shares

प्रतिक्रिया