इराकमा बिहीबार भएको अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ (इन्धन भर्ने) विमान दुर्घटनाको जिम्मेवारी ‘इस्लामिक रेजिस्टेन्स’ले लिएको छ।
रोयटर्सका अनुसार इराकको इस्लामिक रेजिस्टेन्स नामको संगठनले त्यो अमेरिकी विमान आफूले खसालेको दाबी गरेको हो।
आईआरएनए समाचार एजेन्सीले पनि इरान-समर्थित समूह ‘इस्लामिक रेजिस्टेन्स’को विज्ञप्ति जारी गरेको छ।
जसमा भनिएको छ, ‘इराकको राष्ट्रिय सार्वभौमिकता र हवाई क्षेत्रको रक्षा गर्न केसी-१३५ विमानलाई निसाना बनाएका हौँ।’
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले विमान दुर्घटना भएको पुष्टि गरेको केही मिनेटपछि इरानभित्रका समाचार एजेन्सीहरूले पनि विमानलाई आक्रमण गरिएको दाबी गरेका छन्।
तर सेन्टकमले यसलाई दुर्घटना भनेको छ र कुनै शत्रुले आक्रमण गरेको दाबीलाई अस्वीकार गरेको छ।
तर दुर्घटना भएको त्यस विमानमा कति जना थिए र कतिको मृत्यु भयो भन्ने विषयमा यो खबर लेख्दासम्म कुनै जानकारी आएको छैन।
उक्त इन्धन भर्ने ट्याङ्कर विमानले युद्धमा महत्त्वपूर्ण भूमिका खेल्छ।
जसले लडाकु जेट र बमवर्षक विमानलाई आकाशमै इन्धन भर्छ र लामो दूरी उडान गर्न र लड्न सक्षम बनाउँछ।
विमान दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त भइसकेको छैन।
इरानसँग युद्ध भइरहेका बेला अमेरिकी सैन्य विमान दुर्घटना भएको हो।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ।
यस्तै इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
Shares

प्रतिक्रिया