इरानका लागि जासुसी गरेको आरोपमा बहराइनमा चार जना पक्राउ गरिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बन्ध रहेको आरोपमा २२ देखि ३६ वर्ष उमेरका ४ जनालाई बहराइनले नियन्त्रणमा लिएको हो।
बहराइनको गृह मन्त्रालयका अनुसार मुर्तदा हुसेन अवल (२५), अहमद इसा अल हाइकी (३४), सारा अब्दुलनाबी मरहुन (३६) र इलियास सलमान मिर्जा (२२) लाई पक्राउ गरिएको हो।
इरानका लागि जासुसी गर्ने अर्का एकजना पनि पहिचान गरिएको दाबी बहराइनले गरेको छ। अली मोहम्मद हसन अल शेख (२५) नाम गरेका ती व्यक्ति भने हाल देश बाहिर फरार रहेको बहराइनले जनाएको छ।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता हानाहान जारी छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका बहराइनलगायत मध्यपूर्वका देशमा देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
अमेरिका-इजरायको आक्रमणबाट इरानमा अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानी सरकारले बताएको छ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका ९ हजार ६०० वटा आवासीय क्षेत्रमा आक्रमण गरिएको छ।
यस्तै इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
Shares

प्रतिक्रिया