इरानले अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी कतारमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।
कतारको रक्षा मन्त्रालयले इरानबाट दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ।
बीबीसीका अनुसार तीमध्ये एउटा क्षेप्यास्त्र कतारको वायु रक्षा प्रणालीले हावामै खसालेको छ।
दोस्रो क्षेप्यास्त्र भने कतारस्थित सबैभन्दा ठुलो अमेरिकी सैन्य अड्डा अल उदेइद एयर बेसमा लागेको छ।
यद्यपि आक्रमणबाट अहिलेसम्म कुनै हताहतको रिपोर्ट नरहेको कतारले जनाएको छ।
यस विषयमा अमेरिकाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
इजरायल र अमेरिकाले शनिबार संयुक्त सैन्य हमला गरी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारेयता मध्यपूर्वमा द्वन्द्व फैलिएको छ।
हमलाको जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडी मुलुकहरूमा क्षेप्यास्त्र/ड्रोन प्रहार गरिरहेको छ।
अमेरिकास्थित 'ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी' (एचआरएएनए) ले शनिबार (फेब्रुअरी २८) देखि जारी इजरायल-अमेरिकाको आक्रमणबाट इरानमा मारिएका मानिसको संख्या हजार नाघेको जनाएको छ।
एचआरएएनएका अनुसार उनीहरूको हवाई हमलाबाट अहिलेसम्म इरानमा मारिएकाको संख्या १ हजार ९७ पुगेको छ भने यसमा १० वर्षमुनिका १८१ बालबालिका छन्।
यस्तै घाइतेको संख्या ५ हजार ४०२ पुगेको छ र यीमध्ये पनि १०० जना बालबालिका रहेको बताइएको छ।
एचआरएएनएले पछिल्लो २४ घण्टामा मात्र कम्तीमा १०४ आक्रमण भएको उल्लेख गरेको छ। आक्रमण इरानका सैन्य अड्डा, अस्पताल र आवासीय क्षेत्रलाई लक्ष्य गरी गरिएका थिए।
एचआरएएनएले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ।
Shares

प्रतिक्रिया