ग्लोबल


इरानलाई ट्रम्पको चेतावनी: हामीमाथि हमला भयो भने अझ शक्तिशाली आक्रमण गर्नेछौँ

इरानलाई ट्रम्पको चेतावनी: हामीमाथि हमला भयो भने अझ शक्तिशाली आक्रमण गर्नेछौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
फागुन १७, २०८२ आइतबार १३:२०, काठमाडौँ

इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरानले उनीहरूविरुद्ध ‘इतिहासकै खतरनाक आक्रमण’ गर्ने चेतावनी दिएको छ।

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले विज्ञप्ति जारी गरी भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाले कब्जा गरिएका क्षेत्र र अमेरिकी आतंकवादी अड्डाहरूविरुद्ध चाँडै इतिहासको सबैभन्दा खतरनाक आक्रमण सुरु गर्नेछ।’

यसैबिच त्यसो गरिए अझ कडा आक्रमण गरिने जवाफ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन्। 

उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले भर्खरै यसअघि कहिले नगरिएको धेरै शक्तिशाली आक्रमण गर्ने भनेको छ। तर त्यसो नगर्नु उसका लागि राम्रो हुनेछ। किनकि त्यसो गर्‍यो भने हामी त्यस्तो भीषण आक्रमण गर्नेछौँ, जुन उसले यसअघि कहिले देखेको थिएन।’

यसैबिच इरानको सरकारी टीभी च्यानलका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अयातोल्लाह अली खामेनी शनिबार बिहान आफ्नै कार्यालयमा काममा व्यस्त रहेका बेला मारिएको बताएको छ। 

इरानका सञ्चारमाध्यम तस्निम र फार्सका अनुसार आक्रमणमा इरानका सर्वोच्च नेता खामेनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्। 

सर्वोच्च नेता खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ।

आईआरजीसीले भनेको छ, ‘हामीले एक महान् नेता गुमाएका छौँ र सिंगो देश शोकमा छ।’

यसैबिच वासिङ्टनस्थित इरानी मानव अधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीले अमेरिका र इजरायलको आक्रमणमा इरानमा कम्तीमा १३३ जना मारिएको र २०० जना घाइते भएको जनाएको छ।

जवाफमा शनिबारै २७ अमेरिकी अड्डाका साथै तेल अभिभस्थित इजरायली सेनाको मुख्यालय र रक्षा उद्योगमा हमला गरिएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले विज्ञप्तिमार्फत जनाएको छ।

कतारको राजधानी दोहामा ११ वटा विस्फोट
कतारको राजधानी दोहामा धेरैवटा विस्फोट सुनिएका छन्।

मिडिया रिपोर्टले कम्तीमा ११ वटा विस्फोट भएको संकेत गरेका छन्।

तर विस्फोट के कारणले भयो वा के कति क्षति भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन।

यूएईमा १ मृत्यु, ११ जना घाइते
इरानको आक्रमणबाट यूएईमा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विस्फोटमा ४ जना घाइते भएका छन्।

यस्तै अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा एकजना एसियाली नागरिक मारिएका छन् भने ७ जना घाइते भएको यूएई सरकारले जनाएको छ।

कतारमा १६ जना घाइते
कतारको गृह मन्त्रालयले इरानको आक्रमणबाट थप ८ जना घाइते भएको जानकारी दिएको छ। 

योसँगै इरानी आक्रमणबाट अहिलेसम्म घाइते भएकाको कुल संख्या १६ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad