ग्लोबल


खामेनीको लोकेसन सीआईएले पत्ता लगायो, इजरायलले हान्यो

खामेनीको लोकेसन सीआईएले पत्ता लगायो, इजरायलले हान्यो

नेपालखबर
फागुन १७, २०८२ आइतबार १२:२६,

शनिबार अमेरिका र इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएका छन्। उनको हत्यामा अमेरिकी गुप्तचर एजेन्सी सीआईएको महत्त्वपूर्ण हात रहेको जानकार अधिकारीहरूलाई उधृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ।

रिपोर्टअनुसार सीआईएले महिनौँदेखि खामेनीको पिछा गरिरहेको थियो। उनी जहाँजहाँ जान्छन्, सो ठाउँ पत्ता लगाउने, उनका आनबानी ठम्याउने कोसिस गरिरहेको थियो।

त्यसपछि शनिबार बिहान इरानका उच्च अधिकारीहरूबीच तेहरानको केन्द्रमा एउटा बैठक हुने सुइँको सीआईएले पायो। त्यो बैठकमा खामेनी पनि सहभागी हुने सूचना थियो।

अमेरिका र इजरायलले इरानमाथि हमलाको तयारी गरिरहेकै थिए। एकातिर वार्ता चल्दै थियो, तर वार्तामा कसैलाई विश्वास थिएन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युद्धको विरोध गर्दै सत्तामा आए पनि भेनेजुएलालगायत पछिल्ला केही सैन्य कारबाहीको सफलताबाट हौसिएका थिए।

त्यसमाथि, इरानमा हमला गर्न उनलाई इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले उक्साइरहेकै थिए। ट्रम्पले गत वर्ष नै खामेनी हत्या गर्ने धम्की पनि दिइसकेका थिए।

त्यसैले अमेरिका र इजरायललाई आक्रमणको समय सार्न कुनै कठिनाइ भएन। खामेनीको लोकेसन पत्ता लागेपछि सीआईएले इजरायललाई त्यसको सूचना दिएको थियो। त्यसपछि सो हमला गरिएको थियो।

खामेनीको हत्याले इरानी सत्ता संरचनामा अमेरिका र इजरायलको गुप्तचरी पहुँच कुन हदसम्म छ भन्ने देखाएको छ। त्यस्तै, युद्धको सम्मुख हुँदाहुँदै पनि आफ्ना नेताको सुरक्षाको भरपर्दो व्यवस्था गर्न नसक्नुले इरानको कमजोरी पनि उदांगो भएको छ।

खामेनीसँगै इरानको सैन्य तथा सुरक्षा नेतृत्वको उच्च तह पनि नष्ट भएको छ। सो बैठकमा सहभागी सशस्त्र बलका चिफ अफ स्टाफ अब्दुल रहिम मौसवी र रक्षामन्त्री अजिज नसिरजादे मारिएका छन्। 

त्यस्तै, खामेनीका सुरक्षा सल्लाहकार अली सामखानी र सेनाप्रमुख मोहम्मद पाकपोर पनि मारिएको इरानी सरकारी समाचार संस्थाले पुष्टि गरेको छ। 

जे भए पनि खामेनीको अन्त्यपछि इरानको भविष्य भने अझ अनिश्चित भएको छ। इरानी सरकारले हत्याको बदला लिने बताएको छ। जवाफमा पश्चिम एसियाली मुलुकहरूमा पनि इरानले क्षेप्यास्त्र प्रहार गरेको छ। 

जसका कारण यो युद्धले क्षेत्रीय रूप लिनसक्ने त्रास देखिएको छ। ट्रम्पले भने इजरायल र अमेरिकामाथि इरानले प्रहार गरे अझ भयंकर आक्रमण गर्ने धम्की दिएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad