इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी सुरक्षित रहेको बताएका छन्।
एनबीसी न्युजसँग उनले भनेका छन्, ‘मलाई थाहा भएसम्म इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी जीवित छन्।’
उनले इजरायल-अमेरिकाको आक्रमणमा इरानले ‘सायद एक वा दुई कमान्डर भने गुमाएको’ बताएका छन्।
इरानको सरकारी सञ्चारमाध्यमले भने अहिलेसम्म इरानका वरिष्ठ राजनीतिक अधिकारी र सेना प्रमुख मारिएको खबरलाई खारेज गरेको छ।
यसैबिच इरानका विदेशन्त्री अराघचीले भनेका छन्, ‘इरान तनाव कम गर्न र वार्तामा संलग्न हुन तयार छ, यदि अमेरिका र इजरायलले आफ्नो आक्रमण बन्द गरे भने।’
इजरायलले अमेरिकासँग मिलेर शनिबार बिहान राजधानी तेहरानसहित इरानका १० सहरमा हवाई आक्रमण गरेको हो।
यसैबिच स्रोतलाई उद्धृत गर्दै रोयटर्सले आक्रमणमा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र रिभोलुसनरी गार्ड्स (आईआरजीसी) का कमान्डर मोहम्मद पाकपुर मारिएको दाबी गरेको छ।
आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडिओ सन्देश जारी गर्दै इरानविरुद्ध हमला अमेरिकी नागरिकको सुरक्षाका लागि भएको बताएका छन्।
जवाफमा इरानले पनि इजरायलविरुद्ध झन्डै ४०० वटा मिसाइल प्रहार गरेको छ भने कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र यूएईमा रहेका अमेरिकी आधार शिविरलाई निसाना बनाएको छ।
साथै इरानले यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईमा पनि आक्रमण गरेको छ।
Shares

प्रतिक्रिया