अमेरिकाको दक्षिणी सीमासँग जोडिएको देश मेक्सिकोमा फुटबल खेलको अन्त्यमा मैदानमा छिरेर अन्धाधुन्ध गोली प्रहार गरिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार आइतबार (जनवरी २५) मध्य मेक्सिकोको एक फुटबल मैदानमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
यो आक्रमण मेक्सिकन राज्य गुआनाजुआटोको सलामान्का सहरमा भएको हो।
एसोसिएटेड प्रेसका अनुसार, सलामान्काका मेयर सेजर प्रिएटोले विज्ञप्तिमा भनेका छन्, ‘बन्दुकधारीहरू फुटबल खेलको अन्त्यमा मैदानभित्र छिरेर गोली चलाए। घटनास्थलमै १० जनाको मृत्यु भयो भने एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो।’
मेयर सेजर प्रिएटोले हिंसा नियन्त्रणका लागि मद्दत गर्न देशका राष्ट्रपति क्लाउडिया सेनबाउमलाई अपिल गरेका छन्।
गत वर्ष मेक्सिकोमा गुआनाजुआटो राज्यमा सबैभन्दा धेरै हत्या भएका थिए। त्यहाँ स्थानीय गिरोह, सान्ता रोजा डे लिमा र मेक्सिकोको शक्तिशाली जलिस्को न्यु जेनेरेसन कार्टेलबिच युद्ध चलिरहेको छ।
मेयरले भने, ‘दुर्भाग्यवश! केही आपराधिक समूहले अधिकारीहरूलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्, जुन सफल हुने छैन।’
Shares

प्रतिक्रिया