पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा दुलहा–दुलहीसहित कम्तीमा आठ जनाको ज्यान गएको छ।
प्रहरी र सरकारी अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्। इस्लामाबाद प्रहरीका अनुसार विवाहको रिसेप्सन सम्पन्न भएपछि दुलहा–दुलहीसहित पाहुनाहरू सोही घरमा सुतेका थिए।
बिहान अचानक भएको विस्फोटका कारण घरको केही भाग भत्किँदा घटनास्थलमै आठ जनाको मृत्यु भएको हो।
विस्फोटमा परी सात जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले जारी गरेको विज्ञप्तिमा विस्फोट सहरको केन्द्रमा रहेको आवासीय क्षेत्रमा भएको उल्लेख गरिएको छ।
घटनापछि सुरक्षाकर्मी, उद्धार टोली र दमकल विभाग तत्काल घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य सञ्चालन गरेका थिए। विस्फोटको असर नजिकैका केही घरहरूमा समेत परेको बताइएको छ।
एक सरकारी प्रशासक साहिबजादा युसुफले आइतबार बिहान विस्फोट भएको जानकारी पाएलगत्तै सम्बन्धित निकायलाई सतर्क गराइएको र घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको बताएका छन्।
प्रारम्भिक रूपमा ग्यास सिलिन्डर चुहावटका कारण विस्फोट भएको आशङ्का गरिएको छ। प्रधानमन्त्री शाहबाज सरिफले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना प्रकट गरेका छन्।
उनले घाइतेहरूको निःशुल्क र उत्तम उपचार सुनिश्चित गर्न स्वास्थ्य अधिकारीहरूलाई निर्देशनसँगै घटनाबारे पूर्ण र निष्पक्ष अनुसन्धान गर्न आदेश दिएकोा छन्।
पाकिस्तानका धेरै घरपरिवारहरू प्राकृतिक ग्यासको न्यून चापका कारण तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) सिलिन्डर प्रयोग गर्न बाध्य छन्।
यस्ता सिलिन्डरहरूमा हुने ग्यास चुहावट र लापरबाहीका कारण यसअघि पनि घातक दुर्घटना भइरहेका छन्। प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ।(रासस/एपी)
Shares

प्रतिक्रिया