ग्लोबल


नेपालीलाई कोरिया लान विमान चार्टडको जिम्मा एनआरएनएले लियो

नेपालीलाई कोरिया लान विमान चार्टडको जिम्मा एनआरएनएले लियो

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १०:२०,

कोरियन भाषा परीक्षा (इपीएस) उत्तीर्ण गरी कोरिया गएर विदामा फर्किएका नेपालीलाई दक्षिण कोरिया फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विमान चाटर्डको व्यवस्थापन जिम्मा लिएको छ।

नेपाल वायु सेवा निगमसँग २ करोड रुपैयाँ ग्यारेन्टी बसेर संघले चार्टड उडानको व्यवस्थापन गरिरहेको हो।

संघ अध्यक्ष कुमार पन्तका अनुसार निगमसँग १० लाख रुपैयाँ धरौटी राखेर वैशाख १६ मा प्रारम्भिक सम्झौता गरिएको छ। भिषा र अरु कागजी प्रक्रिया पूरा गरी लकडाउनका कारण नेपालमै रोकिने नेपाली १ हजार २ सय भन्दा बढी छन्। उनीहरु सबै फर्किन चाहे ४ वटा चार्टड हुनसक्ने अनुमान संघले गरेको छ।

‘भिषासहित सम्पूर्ण कागजात पूरा गरी नेपालमै रहेकाहरुलाई लैजान विमान चार्टडको व्यवस्थापन गरिरहेछौं’, संघ अध्यक्ष कुमार पन्तले नेपालखबरसँग भने, ‘वैशाख १६ मा निगमसँग १० लाख रुपैयाँ बुझाएर प्रारम्भिक सम्झौता गरिएको छ।’

कोरोना महामारीको असरका कारण अन्तर्राष्ट्रिय उडान ठप्प छन्। उडान ठप्प हुँदा विदामा फर्किएकाहरु नेपालमै रहेका हुन्।

कोरोना महामारीका कारण निगमले २०७६ चैत १९ देखि नियमित अन्तर्राष्ट्रिय उडान रोकेको छ। चैत २५ देखि नियमित अन्तर्राष्ट्रिय उडान ठप्प छन्। मेडिकल सामान ढुवानी तथा उद्धारका लागि चार्टड उडान हुँदै आएका छन्।

nac widebodyनेपाल वायुसेवा निगमको वाइडबडी जहाज। फाइल तस्विर

‘नेपाली कामदारलाई कोरिया लैजान एनआरएनएसँग सम्झौता भएको हो। कोरोना परीक्षण गरेपछि मात्र विमान यात्रा गर्न पाइने भएकाले केही ढिलो भइरहेको हो’, नेपाल वायुसेवा निगम स्रोतले नेपालखबरसँग भन्यो, ‘बुधबार एउटा वाइडबडी अष्ट्रेलिया जाने तालिका छ। कोरिया जानेहरुको स्वास्थ्य परीक्षण नसकिएकाले सम्भवतः त्यसपछि कोरिया उडान हुनेछ।’

वैशाख १५ गतेको मन्त्रिपरिषद बैठकले भिषासहित सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपालमा रहेका नेपालीलाई कोरिया जान अनुमति दिने निर्णय गरेको थियो। सरकारको निर्णयपछि वैशाख १७ गते नेपाली कामदार कोरिया उड्ने तयारीमा थिए।

उडान हुने दिन नै इपिएस कोरिया शाखाले सूचना जारी गर्दै भन्यो, ‘विमान चढ्ने सबैले कोरोना परीक्षण गर्नुपर्छ।’ सो सूचनाका कारण उड्न ठिक परेकाहरु रोकिएका हुन्।

इपिएस कोरिया शाखालेसूचना जारी गर्दै कोरिया फर्किन चाहनेहरुलाई आफ्नै खर्चमा स्वास्थ्य (कोरोना) परीक्षण गर्न भनेको छ। विमान चार्टडको पैसा पनि आफैँ तिर्न भनेको छ।

हेर्नुहोस् सूचनाः

 eps notice

अन्य देशमा चार्टड उडान गर्न छलफल
कोरोना महामारीका कारण रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेतसहित देशमा रहेका नेपाली पनि अप्ठ्यारोमा छन्। अध्यक्ष पन्त अन्य देशमा अप्ठ्यारोमा रहेका नेपालीलाई नेपाल फर्काउन पनि चार्टड गर्नेबारे सरकारसँग कुराकानी गरिरहेको बताउँछन्।

एनआरएनएले ती देशमा रहेकाहरु नेपाल फर्काउन सरकारसँग विस्तृत छलफल गरेको छ। ‘ती देशमा रहेर कागजी प्रक्रिया पूरा नगरेका, अस्थायी भिषा भएका एवं गर्भवती महिलाहरुलाई नेपाल फर्काउन सरकारसँग छलफल गरेका छौं’, अध्यक्ष पन्तले नेपालखबरसँग भने, ‘ती देशमा अप्ठ्यारोमा रहेकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने सहमति भएको हो।’

कस्तो छ कोरियाको अवस्था?
कोरिया सरकारले नै कामदा पठाइदिन आग्रह गरेपछि नेपालीलाई पठाउने निर्णय भएको हो। दक्षिण कोरियाले प्रविधिको व्यापक प्रयोग गरी कोरोना महामारीको सामना गरिरहेको छ। अन्य देशहरुभन्दा तुलनात्मक रुपमा कोरोना असर कम भएको कोरियामा अप्रिल १५ मा आमचुनाव नै भएको थियो। सुरक्षा सावधानी अपनाएर त्यहाँ कलकारखाना खुला गरिएका छन्। तर कोरिया कोरोना संक्रमितहरु देखिनै छोडेका भने होइनन्। ५ करोड १६ लाख बढी जनसंख्या भएको कोरियामा आइतबारसम्म १८ हजार बढी संक्रमित छन्।

नेपाली कामदारहरु सन् २००८ देखि दक्षिण कोरिया जाँदै आएका छन्। हाल त्यहाँ ३५ हजार बढी नेपाली कामदार रहेको सरकारी तथ्यांक छ। कामदार संख्या खाडी मुलुकहरुभन्दा कम भए पनि कोरियाका नेपालीको नेपाल आउने ‘रेमिटेन्स’मा राम्रो हिस्सा छ। त्यहाँ एक जना नेपालीको कमाई २ लाख रुपैयाँसम्म हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad