ग्लोबल


असमको कार्बी आङ्लोङमा भड्कियो हिंसा, २ जनाको मृत्यु, ३४ प्रहरी घाइते

असमको कार्बी आङ्लोङमा भड्कियो हिंसा, २ जनाको मृत्यु, ३४ प्रहरी घाइते

आसामको कार्बी आङ्लोङ जिल्लामा लगातार दोस्रो दिन मंगलबार पनि हिंसा जारी छ।


नेपालखबर
पुस ९, २०८२ बुधबार ६:८, काठमाडौँ

भारतीय राज्य असमको कार्बी आङ्लोङ जिल्लामा हिंसा भड्किएको छ। 

मंगलबार प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २ जनाको मृत्यु भएको छ। 

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म पश्चिम कार्बी आङ्लोङको अवस्थालाई नजिकबाट नियालिरहेको छु। मंगलबारको अशान्तिमा दुई जनाले ज्यान गुमाउनु धेरै दुःखद छ।’

शान्ति कायम राख्न बुधबार खेरोनीमा थप सुरक्षा बल तैनाथ गरिने उनले बताए। 

उनले भनेका छन्, ‘हामी संवादमार्फत समस्या समाधान गर्न सम्बन्धित सबैसँग निरन्तर सम्पर्कमा छौँ।’

जिल्लामा तैनाथ एक अधिकारीले प्रदर्शनकारीहरूका दुई समूहबीचको झडपमा कम्तीमा ८ जना घाइते भएको बताए। भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्नुपरेको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार खेरोनी प्रहरी चौकीअन्तर्गत फेलाङ्पीमा डिसेम्बर ६ देखि स्थानीय आदिवासी भोक हडतालमा छन्। उनीहरूले आफ्नो क्षेत्रमा बाहिरी मानिसले अतिक्रमण गरेको भन्दै अवैध बस्ती हटाउन माग गरिरहेका छन्।

यस क्रममा सोमबार प्रदर्शनकारीहरूले खेरोनी प्रहरी चौकी क्षेत्रमा रहेको भाजपा नेतृत्वको कार्बी आङ्लोङ स्वायत्त परिषद्का प्रमुख कार्यकारी सदस्य तुलिराम रोङ्हाङको घरमा आगजनी गरेका थिए।

त्यसपछि जिल्ला प्रशासनले त्यस क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागु गरेको थियो, तर मंगलबार फेरि हिंसा भड्कियो।

असमका प्रहरी महानिर्देशक हरमित सिंहले प्रदर्शनकारीहरूसँगको झडपमा ३४ प्रहरी अधिकारी घाइते भएको बताएका छन्।

कार्बी आङ्लोङ भारतीय संविधानको छैटौँ अनुसूचीअन्तर्गत स्थापित एक स्वायत्त क्षेत्र हो।

यसैबीच असम सरकारले शान्ति र अमनचयन कायम राख्न भन्दै पश्चिम कार्बी आङ्लोङ र कार्बी आङ्लोङ दुवै जिल्लामा इन्टरनेट सेवा बन्द गराएको छ।

कार्बी आङ्लोङमा जारी हिंसाका बीच त्यहाँका नेपाली बस्तीमा पनि तोडफोड भएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad