ग्लोबल


बंगलादेशमा हिन्दु युवक मारिएको विरोधमा भारतमा प्रदर्शन, प्रहरीसँग धक्कामुक्की

बंगलादेशमा हिन्दु युवक मारिएको विरोधमा भारतमा प्रदर्शन, प्रहरीसँग धक्कामुक्की

दिल्लीस्थित बंगादेश उच्चायोग बाहिर विरोध प्रदर्शन गर्दै हिन्दु संगठनहरू।


नेपालखबर
पुस ८, २०८२ मंगलबार १४:२६, काठमाडौँ

बंगलादेशमा हिन्दु युवकको हत्या भएको विरोधमा भारतमा विश्व  हिन्दु परिषद्सहित हिन्दु संगठनहरूले मंगलबार प्रदर्शन गरिरहेका छन्।

समाचार एजेन्सीहरू पीटीआई र एएनआईका अनुसार बंगलादेशमा हिन्दु युवक दिपु चन्द्र दासको हत्या र बंगलादेशमा हिन्दुहरूमाथि भएको हिंसाको विरोधमा दिल्लीस्थित बंगलादेश उच्चायोग बाहिर विरोध प्रदर्शन भइरहेको हो। 

समाचार एजेन्सीहरूले प्रदर्शनमा देखिएको ठूलो भिडका भिडिओहरू पनि सार्वजनिक गरेका छन्। 

पीटीआईका अनुसार विरोध प्रदर्शनका कारण बंगलादेश उच्चायोग भित्र र वरपर थप सुरक्षा बल तैनाथ गर्दै सुरक्षा कडा पारिएको छ।

एएनआईले जारी गरेको एउटा भिडिओमा प्रहरी ब्यारिकेडनजिकै प्रदर्शनकारी र प्रहरीबीच झडप र धक्कामुक्की भएको देखिन्छ।

अर्को भिडिओमा ठूलो संख्यामा प्रदर्शनकारीहरूले प्लेकार्ड बोकेर नारा लगाइरहेका छन्। 

बंगलादेशमा एक हिन्दु युवक मारिएयता उक्त देश र भारतको सम्बन्धमै दरारा देखिएको छ। 

गत वर्ष उनको सत्ता ढाल्ने विद्यार्थी आन्दोलनका प्रमुख नेतामध्ये एक सरिफ उस्मान हादीको हत्या गरिएपछि बंगलादेशमा फेरि हिंसा भड्किएको छ। त्यस क्रममा आक्रोशित भिडले हिन्दु युवकको पनि बीभत्स हत्या गरेका हुन्। 

त्यसको विरोधमा गत शनिबार राति भारतको राजधानी दिल्लीस्थित बंगलादेश उच्चायोग बाहिर विरोध प्रदर्शन गरिएको थियो।

यसपछि असुरक्षा कारण देखाउँदै बंगलादेशले भारतमा रहेका आफ्ना सबै भिसा र कन्सुलर सेवा अनिश्चितकालका लागि बन्द गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

यसअघि भारतले पनि बंगलादेशको दोस्रो सबैभन्दा ठूलो सहर चटगाउँमा रहेको भारतीय भिसा आवेदन केन्द्र पनि गत आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जनाएको छ। 

त्यसअघि बिहीबार चटगाउँमा भिडले भारतीय सहायक उच्चायुक्तको निवासमा पुगेर ढुंगा हानेको थियो। 

सुरुमा बंगलादेशले हादीको हत्या गर्ने व्यक्तिले भारतमा शरण लिएको दाबी गरे पनि पछि बंगलादेश गृह मन्त्रालयले यसको ठोस जानकारी नभएको बताएको छ। 

गृह मन्त्रालयका आईजी रफिकुल इस्लामले मुख्य अभियुक्त फैसल करिम मसुद कहाँ छन् भन्नेबारे कुनै जानकारी नभएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad