मलेसियाको राजधानी क्वालालम्पुर। सम्झौतामा हस्ताक्षर हुँदै थियो कम्बोडिया र थाइल्यान्डका प्रधानमन्त्रीबीच। तर, मञ्चमा फुर्तिफार्ती चाहिँ डोनाल्ड ट्रम्पको थियो।
उनैले सबैभन्दा लामो भाषण गरे। र, आफ्नो चाहिँदो बढाइचढाइ पनि।
‘यो दक्षिणपूर्वी एसियाका लागि अत्यन्त महत्त्वपूर्ण दिन हो,’ ट्रम्पले भने, ‘ऐतिहासिक कदम।’
कम्बोडिया र थाइल्यान्डबीच सीमामा लडाइँ भएपछि जुलाईमा उनीहरूले युद्धविराम गरेका थिए। त्यसैसम्बन्धी संयुक्त घोषणा क्वालालम्पुरमा आइतबार आयोजना गरिएको हो।
दुवै देशले विवादित सीमा क्षेत्रबाट भारी हतियार फिर्ता लैजाने र युद्धविराम निगारानीका लागि एउटा पर्यवेक्षक टोली खटाउने सम्झौता गरेका छन्।
यद्यपि, सीमा समस्या ज्यूँका त्यूँ छ। तर, आसियानमा भाग लिन ट्रम्पले यो समारोह हुनुपर्ने सर्त राखेका थिए। उनकै माग अनुसार यो समारोह आयोजना गरियो। र, त्यो अवसरमा उनले यसलाई ‘क्वालालम्पुर शान्ति सम्झौता’ नामाकरण पनि गरिदिए।
जुलाईमा स्कटल्यान्डको गल्फ कोर्समा खेलिरहेका बेला यो द्वन्द्व समाधानमा आफू संलग्न भएको उनको भनाइ छ।
‘मैले भनेँ, गल्फभन्दा यो महत्त्वपूर्ण हो नि। (खेल्दा) मैले निकै मजा लिन सक्थेँ। तर, यो अझ आनन्दको कुरा हो, मान्छेहरूको ज्यान बचाउनु, देशै बचाउनु,’ ट्रम्पले गफ लडाए।
उनले ८ महिनामा ८ युद्ध रोकेको दाबी पनि दोहोर्याए।
‘मेरो प्रशासनले ८ महिनामा ८ वटा युद्ध अन्त्य गरेको छ,’ उनले भने, ‘औसतमा महिनाको एउटा। यो त मेरो सौक भन्न त नहुने हो किनभने यो गम्भीर मामिला हो। तर, यसमा म कुशल छु र यस्तो काम गर्न मलाई मन पनि पर्छ।’
तर, यो समारोहपछि थाई विदेशमन्त्री सिहासक फुआङकेतकिउले यो शान्तिको बाटो मात्र भएको बताए।
समारोहमा थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चारविराकुल निकै ‘रिजर्भ्ड’ बसे। किनकि कम्बोडियाका सामु धेरै झुकेको देखिने चिन्ता उनलाई थियो। त्यही भएर नै यसअघिकी प्रधानमन्त्री पेतोङतार्न सिनावात्राको पद खुस्केको थियो।
त्यसमाथि थाइल्यान्ड यो विवाद द्विपक्षीय रुपमा समाधान हुनुपर्ने पक्षमा छ।
निरंकुश शासन रहेको कम्बोडियाका प्रधानमन्त्रीका लागि भने यस्तो चिन्ता छैन। त्यसैले प्रधानमन्त्री हुन मानेतले ट्रम्पको प्रशंसा गर्दै उनलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनीत गरेको याद दिलाए। एजेन्सी
Shares

प्रतिक्रिया