कारोबार


ह्यात होटल १ वर्ष बन्द रहने, अझ विस्तारित र उत्कृष्ट सेवासहित पुनः सञ्चालनमा ल्याइने

ह्यात होटल १ वर्ष बन्द रहने, अझ विस्तारित र उत्कृष्ट सेवासहित पुनः सञ्चालनमा ल्याइने

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार २१:६, काठमाडौँ

तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (ह्यात रिजेन्सी) काठमाडौंले गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा व्यापक क्षति भएकाले फेरि सञ्चालनमा ल्याउन समय लाग्ने बताएको छ।

आइतबार कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै करिब १ वर्ष होटल सञ्चालनमा ल्याउन नसकिने बताएका हुन्।

होटलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापहरूबाट होटलका अतिथि कक्ष, कार्य कक्ष, रिसेप्सन, लवी, रेष्टुरेन्ट, वैक्युट, चैत्यहरू लगायत होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेकोले होटल पूर्ण रूपमा बन्द रहेको जनाइएको छ।

पछिल्ला साढे दुई दशकमा ह्यात होटल नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनहरूको साक्षी रहँदै आएको उल्लेख छ। 

यस अवधिमा होटलले चरम सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारी जस्ता चुनौतीपूर्ण अवस्थाहरूको सामाना गर्दै वर्षौंदेखि हजारौं व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुऱ्याउदै आएको श्रेष्ठले बताएका छन्।

‘नेपाल सरकारले हामिलाई आर्थिक वर्ष २०७९।८० मा समेत गरि ७ औं पटक सम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा र दुई पटक सम्म पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा सङ्कलन गर्ने होटलको रुपमा सम्मानित गरिसकेको छ। यसरी देशको आर्थिक समृद्दिमा महत्वपुर्ण योगदान पुर्‍याएको यस होटलमाथि आन्दोलनको क्रममा गरिएको आक्रमण निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्की तथा माननीय अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनालज्यूले यस विषम परिस्थितिलाई सम्बोधन गर्दै नेपाल सराकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिनुभएको आश्वासनप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं।’

हाल होटलमा भएको क्षतिको मूल्याङ्कन गर्ने कार्य चलिरहेको छ भने क्षतिको पूर्ण मूल्याङ्कन पश्चात् यस होटललाई स्तरउन्नति तथा पुनर्निर्माण गर्दै अझ विस्तारित र उत्कृष्ट सेवासहित यथासिघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै यस कार्यका लागि करिब एक वर्षको समय लाग्ने अनुमान गरिएको विज्ञप्तिमा उल्लेख  छ। 

‘यस होटलले आगामि दिनमा नेपाल सरकारको राजश्च स्रोतमा वृद्दि गरी देशको आर्थिक विकाशमा थप योगदान पुर्याउने र नेपालको फ्ल्यागशिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मानप्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्प बोकेको व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad