ग्लोबल


खाडी र मलेसियामा १६० नेपालीलाई कोरोना पुष्टि

खाडी र मलेसियामा १६० नेपालीलाई कोरोना पुष्टि

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार ७:७,

श्रम गन्तव्य खाडी र मलेसियामा रहेका नेपाली कामदार कोरोना भाइरस (कोभिड—१९) संक्रमणको चपेटामा पर्दै गएका छन्। ती देशहरुमा कोरोना फैलिँदै जाँदा नेपाली पनि संक्रमण जोखिममा परेका हुन्।

युएई, बहराइन, कुवेत, कतार, साउदी तथा मलेसियासहित सबैजसो देशहरु अहिले कोरोना संक्रमणबाट पीडित छन्।

नेपाली दूतावास र गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले ती देशहरुमा संकलन गरेको तथ्यांकअनुसार अहिलेसम्म खाडी र मलेसियामा १ सय ६० जना नेपालीलाई कोरोना पुष्टि भएको छ। युएईमा १ नेपाली महिलाले कोरोनाका कारण ज्यान गुमाएकी छिन्। फरक—फरक देशमा उपचारपछि १० जना निको भएका छन्।

काम गुमाएपछि कतिपय देशका नेपालीले तलब समेत पाउन छोडेका छन्। उनीहरु बस्नखान समेत समस्यामा पर्न थालेका छन्।

‘संघसंस्थाहरुको राहत सहयोगमा जीवनयापन गर्ने नेपाली थुप्रै छन्’, कुवेतबाट भोजराज घिमिरे नेपालखबरसँग भन्छन्, ‘नेपाल फर्किन पाइएला कि यहीँ मरिने हो भनेजस्तो भएको छ।’

युएई र बहराइनमा बढी संक्रमित
कामका लागि युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली संक्रमणमा परेका छन्। एनआरएनए स्वास्थ्य समितिको तथ्यांकअनुसार त्यहाँ ७१ नेपाली कोरोनाबाट संक्रमित छन्। खाडी देशहरुमध्ये नेपाली संक्रमणमा परेका यहाँ सबैभन्दा बढी हो।

विदेशस्थित अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली दूतावास, एनआरएनए शाखा तथा स्थानीय संघसंस्थाले उपलब्ध गराएको सूचना आधारमा यो तथ्यांक संकलन गरिएको एनआरएनए स्वास्थ्य समितिले जनाएको छ। 

युएइका लागि नेपाली दूतावासका अनुसार ती मध्ये २ जना उपचारपछि सञ्चो भएका छन्। उनीहरुलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ।

नेपाली दूतावासका अनुसार बर दुबईमा  रुपन्देही घर भएकी एक नेपाली महिलाले कोरोनाकै कारण ज्यान गुमाएकी छिन्। उनी भारतीयको घरमा घरेलु कामदारको रुपमा कार्यरत थिइन्।

युएईमा शुक्रबारसम्म कोरोनाबाट ८ हजार ७५६ संक्रमित छन्। ५६ जनाले ज्यान गुमाएका छन्। युएईमा करिब ३ लाख ४० हजार नेपाली छन्।

युएईपछि खाडीमा सबैभन्दा धेरै नेपाली बहराइनमा संक्रमित भएका छन्। बहराइनमा शुक्रबारसम्म ४९ नेपालीमा कोरोना संक्रमण देखिएको बहराइनस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

nepali corona gulf

चार हप्ता अगाडि बहराइनमा ४ दिनको फरकमा १२ जना नेपाली कोरोनाबाट संक्रमित भएका थिए। उनीहरुको उपचार भइरहेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्तास बताउँछन्। ‘संक्रमणमा परेका नेपालीहरुको उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सुधार भइरको छ’, उनले नेपालखबरसँग टेलिफोनमा भने, ‘बाहिर धेरै अपुष्ट हल्ला फैलिएको हुनसक्छ।’

बहराइनमा कोरोनाबाट २ हजार २१७ जना संक्रमित छन्। ८ जनाको मृत्यु भएको छ। बहराइनमा ३० हजार नेपाली छन्।

कुवेतमा ३१ संक्रमित
नेपालको श्रम गन्तव्य कुवेतमा ३१ नेपालीलाई कोरोना संक्रमण भएको छ। कुवेतस्थित नेपाली दूतावासकका अनुसार बुधबार र बिहीबार थप ७ जनामा संक्रमण देखिएको हो। नेपाली दूतावसकी द्वितिय सचिव जानकी ओझाका अनुसार उनीहरु सबै अहिले उपचारको क्रममा छन्।

‘कोरोना संक्रमणमा परेका नेपालीले कुवेती नागरिक सरह उपचार पाइरहेका छन्’, ओझाले टेलिफोनमा नेपालखबरसँग भनिन्, ‘उनीहरुलाई फरक व्यवहार गरिएको छैन। उपचार भइरहेकाहरुको अवस्था सुधार भइरहेको छ।’

कुवेतमा कोरोनाबाट २ हजार ३९९ संक्रमित छन् भने १४ जनाको मृत्यु भएको छ। कुवेतमा ८० हजार नेपाली छन्।

नेपालीहरुको प्रमुख श्रम गन्तव्य साउदी अरबमा ५ नेपालीमा कोरोना देखिएको छ। रियादस्थित नेपाली दूतावासकाअनुसार ती मध्ये ३ जना निको भइसकेका छन्। साउदीमा १३ हजार ९३० कोरोना संक्रमित छन्। १२१ जनाको मृत्यु भएको छ। साउदीमा ३ लाख ४० हजार नेपाली छन्।

मलेसियामा निको भए १ जना 
मलेसिया शुक्रबारसम्म ५ हजार ६०३ जनामा कोरोना देखिएको छ। ९५ जनाले ज्यान गुमाएका छन्। नेपाली कामदार बहुल मलेसियामा अहिलेसम्म ४ जना नेपालीमा कोरोना पुष्टि भएको छ। ती मध्ये एक जना उपचारपछि सञ्चो भइसकेका छन्।

मलेसियाका लागि नेपाली दूतावासका अनुसार सोलाङ्गर क्षेत्रमा काम गर्ने एक जना नेपालीलाई केही अगाडि कोरोना देखिएको थियो। ‘उनी हाल निको भइसकेका छन्। नेपालीको अवस्थाबारे हामी नियमित जानकारी लिइरहेछौं’, दूतावास स्रोतले नेपालखबरसँग भन्यो।

मलेसियामाले केही अगाडि कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरेको थियो। त्यो लकडाउन उल्लंघन गर्ने ४ नेपाली पक्राउ परेका थिए। उनीहरु थुनामा छन्। मलेसियामा ३ लाख ५० हजार नेपाली छन्।

worker1 1कतारमा एक जना आप्रबासी कामदार। कोरोनाका कारण आप्रबासी कामदारको अवस्था कतारमा नाजुक भएको छ। तस्विर: न्युयोर्क टाइम्स

कतारमा संक्रमितको खुल्दैन राष्ट्रियता
कतारले राष्ट्रियता खुलाएर कोरोना संक्रमितको संख्या सार्वजनिक गरेको छैन। नेपाली कामदारको बाहुल्यता रहेका कारण उनीहरु संक्रमित भएको हुनसक्ने शंका मात्र छ।

दोहास्थित नेपाली दूतावासका नियोग उपप्रमुख लक्ष्मण खनाल नेपालखबरसँग भन्छन्, ‘केही समय अगाडि संक्रमण फैलिन नदिन कतारले लिएको निर्णयका कारण नेपाली कामदारहरु पनि क्वारेन्टिन तथा आइसोसेलनमा बस्नु पर्यो। त्यो अवधिको उनीहरुलाई पूरै तलब दिने निर्णय भएको छ। कतार सरकारले कोरोना संक्रमितको राष्ट्रियता सार्वजनिक गर्ने गरेको छैन।’

कतारले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको छ। केही अघि कतारका क्वारेन्टिन शिविरका नियम उल्लंघन गरेको आरोपमा २ सय नेपालीलाई फिर्ता पठाएको थियो।

अहिलेसम्म कतारमा ७ हजार ७६४ जनामा कोरोना देखिएको छ। ७५० उपचारपछि निको भएका छन् भने १० जनाको मृत्यु भएको छ। कतारमा ३ लाख ७० हजार नेपाली छन्।

gulf workerयुएइमा काम गर्ने आप्रबासी कामदार एउटै कोठामा छन्। उनीहरु कोरोना जोखिममा छन्। तस्विर: रोयटर्स

सरकार चुपचाप
श्रमका लागि नेपाली विदेश गएका देशहरु यतिबेला पूर्ण वा आंशिक लकडाउनमा छन्। काममा जानुपर्नेहरु कोरोना संक्रमणको अझ जोखममा छन्। ती देशहरुमा श्रम शिविर तथा एउटै कोठामा धेरै जना मिलेर बस्नुपर्ने उनीहरुको विवशता छ। यसले कोरोनाको जोखिम अझ बढाएको छ। काम बन्द भएकाले कतिपय देशले तलब कटौती गर्ने र बेतलबी विदा नीति लिइसकेका छन्। तर नेपालले अन्तर्राष्ट्रिय उडान रोक्दा उनीहरु नेपाल फर्किन सक्ने स्थिति छैन। सरकार उनीहरुलाई उद्दार गर्न तयार देखिँदैन।

वैशाख ८ मा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहित युएई, साउदी अरबसहित संघ प्रतिनिधिसँग भिडियो कन्फरेन्स गरेका थिए। त्यतिबेला अध्यक्ष पन्तले भने, ‘युरोप, अमेरिकाबाट सरकारसँग धेरै आशा छैन तर वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सरकारले पहल गर्नुपर्छ।’

सबैका कुरा सुनिसकेपछि परराष्ट्रमन्त्रीले गैरआवासीय नेपाली नेताहरुलाई निष्कर्ष सुनाए, ‘गैरआवासीय नेपालीलाई भूकम्प बेलामा जस्तै सहयोग देखाउन आग्रह गर्दछुु।’ उनको सम्बोधनमा खाडीका नेपाली कसरी स्वदेश फर्काउने, नेपाल आएर के गर्ने भन्ने विषय कतै प्राथमिकतामा थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad