ad ad

ग्लोबल


नेपाल फर्किन चाहने नेपाली थुप्रै छन्ः पदम सुन्दास, नेपाली राजदूत, बहराइन (अन्तर्वार्ता)

नेपाल फर्किन चाहने नेपाली थुप्रै छन्ः पदम सुन्दास, नेपाली राजदूत, बहराइन (अन्तर्वार्ता)

नेपालखबर
बैशाख ८, २०७७ सोमबार २:२७,

रोजगारीका लागि काम गर्न खाडी मुलुक गएका नेपाली यतिबेला कोरोना भाइरस (कोभिड-१९) को चपेटामा छन्। कोरोनाको असर नेपालीहरूको वैदेशिक रोजगारी गन्तव्य बहराइनमा पनि छ। पछिल्लो विवरणअनुसार त्यहाँ ४९ नेपाली  संक्रमित भएका छन्। 

कोरोना त्रास बढ्दै जाँदा कतिपयले गर्दै आएको काम नै गुमाएका छन्। कस्तो छ उनीहरुको अवस्था? आफ्ना नागरिक फर्काउन नेपाललाई दवाब बढ्दै गएको अवस्थामा बहराइनका नेपाली के भनिरहेछन्? यिनै विषय केन्द्रित रहेर नेपालखबरले बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग टेलिफोनमा गरेको वार्ताः

बहराइनमा कति नेपली कार्यरत छन्?
यो खासगरी नेपालीहरु रोजगारीका लागि आउने देश हो। हाम्रो पछिल्लो तथ्यांकअनुसार बहराइनमा करिब ३० हजार नेपाली छन्। लगभग सबै नै काम गर्नेहरु हुन्।

एक महिना अघि बहराइनमा ३ नेपाली कोरोना भाइरसबाट (कोभिड—१९) बाट संक्रमित भएका थिए। अहिले उनीहरुको अवस्था कस्तो छ?
संक्रमणमा परेर उपचार गराइरहेका नेपालीको अवस्था सुधार भइरहेको छ। बाहिर धेरै अपुष्ट हल्ला फैलिएको हुनसक्छ। उनीहरुबारे हामीले निरन्तर बुझ्ने, जानकारी लिने काम गरिरहेका छौं। उपचारको एउटा प्रक्रिया हुने रहेछ। सुधार हुँदैमा डिस्चार्ज गर्दिहाल्ने हुँदैन रहेछ। एउटा परीक्षणमा नेगेटिभ देखियो भने अरु दुई—तीन पटक फेरि परीक्षण गर्नुपर्ने हुँदो रहेछ। उहाँहरुको अवस्था सुधार भइरहेको छ।

हामीलाई प्राप्त विवरणअनुसार अहिले त्यहाँ कोरोनाबाट संक्रमित नेपाली ४९ जना पुगेका छन्। उनीहरुको उपचार कसरी भइरहेको छ?
कोरोना संक्रमण देखिएपछि उपचार गर्ने यहाँ बहराइन सरकारको छुट्टै संयन्त्र छ। संक्रमणमा परेका नेपालीहरुले बहरानकै नागरिक झैँ उपचार पाइरहेका छन्। उपचारका लागि उनीहरुलाई फरक व्यवहार गर्ने गरिएको छैन। स्वास्थ्य अवस्था कस्तो छ, कति जनाको उपचार भइरहेको छ, कहाँ उपचार भइरहेको छ भनेर हामी जानकारी लिई रहन्छौं। कोरोनाका कारणा नेपालीलाइ परेको असर एवं संक्रमण भएकाहरूको संख्या व्यवस्थित रूपमा तयार पारिरहेका छाैं। ४९ जना भनेको सुरुदेखि अहिलेसम्म संक्रमणमा परेका नेपालीको संख्या हो।

तपाइँले अघि भन्नुभयो नि बहराइनमा ३० हजार नेपाली छन्। कोरोना महामारीपछि उनीहरुले काम गुमाएर अप्ठ्यारोमा होलान्। दूतावासले के गरिरहेछ?
कोरोना महामारीको असर यहाँ पनि परेको छ। नेपाली काम गर्ने धेरै कम्पनी बन्द भएका छन्। हामीले अप्ठ्यारो परेकाहरुलाई सम्पर्क गर्न भनेका छौं। दुःख पाएँ, समस्या पर्य भनेर कतिपय नेपालीले सम्पर्क गर्छन्। साँच्चै दुःखमा परेकाहरुलाई दूतावासले सहयोग गरिरहेको छ।

गरिआएको काम बन्द भइसक्यो, कोरोना त्रास पनि छ। यो अवस्थामा नेपाल फर्किन चाहने नेपाली पनि होलान् नि? बहराइनमा नेपाल फर्किन पाउँ भन्नेहरु कति जति छन्?
कम्पनी बन्द भएका, काम गुमाएर अप्ठ्यारामा परेकाहरु नेपाल फर्किन पाए हुन्थ्यो भन्नेहरु थुप्रै छन्।

तपाइँहरुले उनीहरुलाई के भनिरहनु भएको छ? कस्तो व्यवहार गर्नुहुन्छ?
फर्किनका लागि एउटा निश्चित अवस्था आवश्यक पर्छ। अहिलेको समस्या एउटा देशको मात्र होइन। यतिबेला लकडाउन छ। विमान उडेका छैनन्। हामीले उनीहरुलाई यो अवस्था अवगत गराएर धैर्य लिन सम्झाउने गरेका छौं। लकडाउन खुलेर स्थिति सहज भएपछि जान चाहनेहरु फर्किन सक्छन् भन्ने गरेका छौं। उनीहरुलाई यहाँ गाह्रो नहोस् भनेर वास्तवमै समस्या परेका नेपालीलाई हामीले उनीहरु बस्दै आएको ठाउँमै खाद्यान्न समेत पठाइरहेका छौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .