चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र भारत शत्रु र एकअर्काप्रतिको खतरा होइन, साझेदार बन्नुपर्ने बताएका छन्। दुई दिने भ्रमणमा नयाँ दिल्ली पुगेका उनले समकक्षी एस जयशंकरसँगको भेटमा यस्तो बताएका हुन्।
द्विपक्षीय भेटघाट नियमित हुन थालेसँगै चीन र भारत पाँच वर्ष पुरानो तिक्तता बिर्सेर अघि बढ्न खोजेको देखिएको छ। २०२० मा गलवान झडपपछि यी दुई छिमेकीको सम्बन्ध भताभुंग बनेको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नुअघि वाङले दुई देशबीचको सम्बन्ध सकारात्मक दिशामा गएको बताए।
जयशंकरले पनि भारत र चीनले कठिनाइग्रस्त अवधिपछि सम्बन्धलाई अगाडि बढाउन खोजेको बताए। उनीहरूबीच कैलाश तीर्थयात्रादेखि नदीको जलप्रवाहसम्बन्धी तथ्यांक साझेदारी गर्नेसम्मका विषयमा छलफल भएको छ।
वाङले मंगलबार नै सीमाका विषयमा भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभलसँग पनि भेट गरेका छन्।
‘सीमामा स्थिरता कायम भएको कुरा सुनाउन पाउँदा हामी खुसी छौँ,’ प्रतिनिधिमण्डलस्तरीय बैठकमा वाङले भने, ‘गत केही वर्षमा हामीले सामना गरेको असफलता हाम्रो हितमा थिएन।’
पछिल्लो समय अमेरिकाले रुससँग तेल किनेको भन्दै भारतविरुद्धको भन्सार ५० प्रतिशत पुर्याएपछि नयाँ दिल्लीले चीनसँग सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेको देखिन्छ।
‘हामी एउटा निष्पक्ष, सन्तुलित विश्व व्यवस्था र बहुपक्षीय एसिया चाहन्छौँ,’ जयशंकरले भने।
यसै महिनाको अन्त्यमा सांघाई कोअपरेसन अर्गनाइजेसनको बैठकमा भाग लिन मोदी तियान्जिन पुग्नेछन्। जहाँ उनले सी चिनफिङसँग भेट गर्नेछन्। गत वर्षको अक्टोबरमा रुसमा भएको सी–मोदी भेटपछि चीन–भारत तिक्ततामा ‘आइसब्रेक’ भएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया