ग्लोबल


युक्रेनबारे ट्रम्प–पुटिन भेटवार्ता आज

युक्रेनबारे ट्रम्प–पुटिन भेटवार्ता आज

फाइल तस्बिर: ट्रम्प र पुटिन


नेपालखबर
साउन ३०, २०८२ शुक्रबार ५:५६, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज (शुक्रबार) युक्रेनमा युद्ध अन्त्यका विषयमा अमेरिकाको अलास्कामा भेटवार्ता गर्दै छन्। 

ट्रम्पका अनुसार संवाद 'राम्रो' भयो भने उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गर्नेछन् र दोस्रो चरणको बैठकको व्यवस्था गर्नेछन्।

तर जेलेन्स्की वार्ताका लागि तयार छन् कि छैनन् भनेर सोध्दा ट्रम्पले यसबारे अहिले अनुमान नलगाउने बताए। 

युक्रेन र रुसको क्षेत्राधिकारबारे ट्रम्पले युक्रेन र रुसबीचको सीमामा 'सहमति' हुन आवश्यक रहेको बताएका छन्। 

उनले फक्स न्युज रेडियोसँगको कुराकानीमा उक्त कुराहरू बताएका हुन्। 

ट्रम्पले यो पनि भनेका छन्, ‘यदि परिस्थिति मेरो योजनाअनुसार भएन भने म संयुक्त पत्रकार सम्मेलन गर्दिनँ, पत्रकारहरूलाई एक्लै सम्बोधन गर्नेछु।’

बीबीसीका अनुसार क्रेमलिन र ह्वाइट हाउस दुवैले वार्तापछि दुई नेताले संयुक्त पत्रकार सम्मेलन गर्ने बताएका छन्।

यसैबीच भेटवार्तामा ट्रम्प र पुटिनका प्राथमिकता भने अलग-अलग रहेको विश्लेषण पनि भइरहेको छ। 

पुटिन युक्रेनको भूमि कब्जा गर्न चाहन्छन् भने ट्रम्प आफूलाई विश्वभरका द्वन्द्व समाधान गर्ने नेताका रूपमा उभ्याउन चाहन्छन्। साथै यी नेताका अन्य चाहना पनि छन्।

पुटिनका हकमा अन्तर्राष्ट्रिय मान्यता एउटा प्रमुख चाहना हो। पश्चिमा शक्तिहरूले एक्ल्याएको रुस फेरि विश्वमञ्चमा फर्केको छ। 

विश्लेषकहरू त पुटिनका लागि ट्रम्पसँगको शिखर बैठक आफैँमा जित भएको तर्क समेत गरिरहेका छन्। त्यसमाथि बैठकस्थलका रूपमा अलास्का छानिनु पनि रुसको जित हो।

किनकि रुसको सीमाबाट अलास्का केवल ९० किलोमिटर टाढा छ। पुटिनलाई त्यहाँ पुग्न कुनै शत्रुराष्ट्र भएर जानु पर्दैन। त्यस्तै यो युक्रेन र युरोपबाट निकै टाढा छ। 

अझ महत्त्वपूर्ण कुरा त अलास्का रुसले नै अमेरिकालाई बेचेको थियो। 

‘राज्यका सीमाहरू फेरबदल हुन सक्छ, ठुल्ठूला भूभागको स्वामित्व फेरिन सक्छ भन्ने कुराको स्पष्ट उदाहरण हो अलास्का,’ रुसी पत्रिका मस्कोव्स्की कोम्सोमोलेट्सले लेखेको छ।

यसबाट कब्जा गरेको युक्रेनी भूमिमा आफ्नो दाबीलाई वैध ठहर्‍याउने तर्क गर्न पुटिनलाई सहज हुनेछ। जसलाई युक्रेनले अस्वीकार गरिरहेको छ।

तर यसमा ट्रम्पको समर्थन जुटाउन सके र अस्वीकार गरेकामा युक्रेनलाई प्राप्त भइरहेको अमेरिकाको सहयोग रोक्न सके त्यो पुटिनका लागि निकै ठूलो उपलब्धि हुनेछ। 

ट्रम्पको प्राथमिकता भने बेग्लै छ। २०२४ को चुनावअघि उनले युक्रेन युद्ध तुरुन्तै समाप्त गर्ने बताएका थिए। त्यो वाचा पूरा नभएका कारण राष्ट्रपति बनेयता उनले युक्रेन र रुसविरुद्ध पालैले आक्रोश पोखिरहेका छन्।

पछिल्लो समय उनले रुसलाई अल्टिमेटम दिँदै थप नाकाबन्दी लगाउने चेतावनी दिएका छन्। र, यो वार्ताको नतिजाप्रति मानिसहरूको अपेक्षा कम गर्ने खालका अभिव्यक्ति दिइरहेका छन्। 

यसैबीच बुधबार भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूले ट्रम्पसँग कुरा गरेर पुटिनसँग आफूहरूले स्वीकार्न नसक्ने कुनै सम्झौता नगर्न आग्रह गरेका छन्। 

तर एउटा कुरा के स्पष्ट छ भने युद्ध अन्त्य गरेको जस आफ्नो भागमा पर्ने भए त्यस्तो नतिजालाई ट्रम्पले स्वीकार गर्ने छन्। यसै पनि उनी भारत–पाकिस्तानबीच युद्धविरामको जससमेत दाबी गरिरहेका छन्। किनकि उनको नजर नोबेल शान्ति पुरस्कारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad