इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा सहर कब्जा गर्ने आफ्नो निर्णयविरुद्ध देशकै नागरिक प्रदर्शनमा उत्रिन थालेपछि स्पष्टीकरण दिएका छन्।
नेतन्याहुले सञ्चारमाध्यमसँग भने, ‘म यहाँ झुटलाई पर्दाफास गर्न र सत्य प्रस्तुत गर्न आएको हुँ। गाजामा अझै पनि हजारौँ हतियारधारी हमास आतंककारी छन्, जसको उद्देश्य इजरायललाई नष्ट गर्नु हो।’
उनले थपे, ‘गाजाका जनता हामी र विश्वलाई हमासबाट छुटकारा पाउन बिन्ती गरिरहेका छन्। हमास मानिसहरूलाई मार्ने संगठन हो।’
नेतन्याहुले अगाडि भनेका छन्, ‘इजरायलको उद्देश्य गाजा कब्जा गर्नु होइन, तर यसलाई मुक्त गर्नु हो। यो युद्ध तब मात्र समाप्त हुनेछ जब हमासले बन्धकहरूलाई रिहा गर्नेछ र हतियार बिसाउनेछ।’
नेतन्याहुले आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्।
गाजा नियन्त्रण गर्ने निर्णयको व्यापक विरोध हुन थालेपछि इजरायलका प्रधानमन्त्री नेतन्याहुले उक्त वक्तव्य दिएका हन्। इजरायलका विपक्षी नेता यायर लापिडले पनि गाजा कब्जा गर्ने योजनाको विरोध गरेका छन्।
उनको निर्णयमा अन्तर्राष्ट्रिय समुदायले आलोचना गरिरहेको छ।
आइतबार पत्रकार सम्मेलनमा इजरायलका प्रधानमन्त्रीले फेरि एकपटक गाजालाई नि:शस्त्रीकरण गर्ने रूपरेखा प्रस्तुत गरे। जसमा यी पाँच कुरा छन्:
-हमासको नि:शस्त्रीकरण
-सबै बन्धकको रिहाइ
-गाजालाई सैनिकविहीन (सेना फिर्ता)
-गाजा पट्टीको 'सुरक्षा'मा इजरायलको नियन्त्रण
-गाजामा छुट्टै 'नागरिक प्रशासन' स्थापना, जसमा हमास र प्यालेस्टिनी प्राधिकरणका मानिस रहने छैनन्।
बेन्जामिन नेतन्याहुले 'काम पूरा गर्ने' र हमासलाई 'हराउने'बाहेक इजरायलसँग अर्को विकल्प नरहेकामा जोड दिए।
उनले भने, ‘गाजाको ७०-७५ प्रतिशत इजरायली सेनाको नियन्त्रणमा छ तर गाजामा अझै पनि हमासका दुई गढ बाँकी छन्। ती मध्ये एउटा गाजा सहर हो र अर्को केन्द्रीय शिविर।
नेतन्याहुले थपे, ‘इजरायलले युद्ध क्षेत्रबाट आम मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्नेछ र तोकिएका सुरक्षित स्थानमा लैजानेछ। उनीहरूलाई पहिलेजस्तै खाना, पानी र स्वास्थ्य सुविधा प्रदान गरिनेछ।’
Shares

प्रतिक्रिया