ग्लोबल


मेरो र पुटिनबीचको बहुप्रतीक्षित भेटघाट आउने शुक्रबार हुनेछ : ट्रम्प

मेरो र पुटिनबीचको बहुप्रतीक्षित भेटघाट आउने शुक्रबार हुनेछ : ट्रम्प

नेपालखबर
साउन २४, २०८२ शनिबार ८:१७, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार अमेरिकी राज्य अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने घोषणा गरेका छन्। 

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा मेरो र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतीक्षित भेटघाट अर्को शुक्रबार, अगस्ट १५, २०२५ मा अलास्काको ग्रेट स्टेटमा हुनेछ।’ 

अलास्कामा भ्लादिमिर पुटिनसँगको भेटघाटको घोषणापछि रुसका राष्ट्रपतिका सहायक युरी उसाकोभले भने, ‘रुस र अमेरिका नजिकका छिमेकी हुन्, जसले एकअर्कासँग सीमा साझा गर्छन्। दुई देशका नेताबीचको यस्तो महत्त्वपूर्ण र अप्रत्याशित उच्चस्तरीय बैठक अलास्कामा हुनु राम्रो हो।’

उसाकोभका अनुसार, अलास्कापछिको अर्को उच्चस्तरीय बैठक मस्कोमा हुन सक्छ। यसका लागि निमन्त्रणा पहिले नै दिइसकिएको उनको भनाइ छ।

यसअघि २०१३ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले रुस भ्रमण गरेका थिए।

यद्यपि, अलास्कामा ट्रम्प-पुटिन उच्चस्तरीय बैठक हुँदा युक्रेनबाट कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन।

‘म राष्ट्रपति पुटिनसँग चाँडै भेट्नेवाला छु। यो चाँडै हुन सक्थ्यो, तर केही सुरक्षा व्यवस्था गर्नुपर्नेछ’, राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने।

अमेरिकाका राष्ट्रपतिले युक्रेन र रुस दुवैको हितमा ‘केही क्षेत्र साट्ने’ सम्झौताको संकेत पनि गरेका छन्।

‘तपाईं साढे तीन वर्षदेखि लडिरहेको क्षेत्रलाई हेर्दै हुनुहुन्छ। धेरै रुसीहरू मरेका छन्, धेरै युक्रेनीहरू मरेका छन्, त्यसैले हामी त्यसलाई हेरिरहेका छौँ’, उनले भने।

‘हामी साँच्चै केही फिर्ता लिन र केही साट्न प्रयास गरिरहेका छौँ। यो जटिल छ, साँच्चै सजिलो छैन। हामी केही फिर्ता पाउनेछौँ, केही साट्नेछौँ।’

यसअघि भने ट्रम्पले युक्रेनमा युद्धविरामका लागि सहमत हुन पुटिनलाई हिजो शुक्रबारसम्मको समय तोकेका थिए। 

ट्रम्पले अब आगामी शुक्रबार पुटिनसँग भेट्ने बताउनुअघि ट्रम्पका विशेष दूत स्टिभ विटकफले यसै हप्ताको सुरुमा रुसका राष्ट्रपतिसँग मस्कोमा भेटवार्ता गरेका थिए।

ह्वाइट हाउसले द्वन्द्व अन्त्य गर्न सम्झौताको लागि जोड दिइरहेको छ, तर दुई पक्ष सहमत हुन होलान् कि नहोलान्, हेर्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad