बंगलादेश प्रहरीले बिहीबार देशका पूर्वप्रधानन्यायाधीश एबीएम खैरुल हकलाई पक्राउ गरेको छ।
डिटेक्टिभ शाखा (डीबी) प्रहरीको टोलीले उनलाई स्थानीय समयानुसार आज बिहान ८ बजेतिर उनको धानमन्डी निवासबाटै पक्राउ गरेको हो।
डिबीका संयुक्त आयुक्त नासिरुल इस्लामले पूर्वप्रधानन्यायाधीश एबीएम खैरुल हकको गिरफ्तारीको पुष्टि गरेका छन्।
‘हो, हामीले उहाँलाई पक्राउ गरेका छौँ’, इस्लामले भने, ‘उहाँविरुद्ध तीनवटा मुद्दा छन्।’
खैरुल हकले बंगलादेशको १९औँ प्रधानन्यायाधीशका रूपमा सेवा गरेका थिए।
अगस्ट १८ मा सर्वोच्च अदालतका वकिल मुजाहिदुल इस्लाम शाहिनले खैरुलविरुद्ध भ्रष्टाचार र न्यायिक फैसलामा परिवर्तन गरेको आरोप लगाउँदै शाहबाग प्रहरी चौकीमा मुद्दा दायर गरेका थिए।
यसअघि १५ अगस्टमा नारायणगन्जको फतुल्ला प्रहरी चौकीमा अर्को मुद्दा दर्ता भएको थियो।
फतुल्ला थाना बीएनपीका महासचिव तथा नारायणगन्ज जिल्ला बार एसोसिएसनका पूर्वअध्यक्ष अब्दुल बारी भुइयाँले मुद्दा दायर गरेका थिए।
भुइयाँको उजुरी १३ वर्षअघि कार्यवाहक सरकारी प्रणालीलाई खारेज गर्ने ऐतिहासिक फैसलासँग सम्बन्धित छ। उनले खैरुलविरुद्ध संविधानको १३औँ संशोधनलाई रद्द गर्न मूल फैसला परिवर्तन गरेको र प्रक्रियामा जालसाजी गरेको आरोप लगाए।
खैरुलले सन् २०१० अक्टोबर १ देखि सन् २०११ मे १७ सम्म बंगलादेशको प्रधानन्यायाधीशका रूपमा सेवा गरे।
सन् २०११ मेमा उनको नेतृत्वमा पुनरावेदन बेन्चले विवादास्पद फैसला सुनाउँदै १३औँ संशोधनलाई असंवैधानिक घोषणा गरेको थियो।
बिडीन्युजका अनुसार यसले राष्ट्रिय चुनावको निरीक्षण गर्न प्रयोग गरिएको कार्यवाहक प्रणालीलाई प्रभावकारी रूपमा अन्त्य गरेको थियो।
बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेवा गरेका राजनीतिज्ञ, अर्थशास्त्री, शीर्ष निर्वाचन अधिकारी, नौकरशाह र प्रहरीसहित विभिन्न स्तरका व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ।
गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिना अपदस्थ भएका थिए। उनको पतनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। रासस/एएनआई
Shares

प्रतिक्रिया