अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सबै आणविक स्थलमा आक्रमण गरी ठूलो क्षति पुर्याएको दाबी गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिकाले इरानका सबै आणविक केन्द्रमा ठूलो क्षति पुर्याएको जिकिर गरेका हुन्।
ट्रम्पले लेखेका छन्,‘उपग्रह तस्बिरहरूले इरानका सबै आणविक स्थलमा ठूलो क्षति भएको देखाउँछन्। यसलाई 'पूर्ण विनाश' भन्नु पूर्णतया सही हुनेछ।’
उनले अगाडि लेखेका छन्, ‘जुन सेतो संरचना देखिन्छ त्यो चट्टानभित्र गहिराइमा बनाइएको छ, जसको छाना पनि जमिनमुनि छ र यो आगोबाट पूर्ण रूपमा सुरक्षित छ। तर वास्तविक र सबैभन्दा ठूलो क्षति जमिनको धेरै तल भएको छ। ठिक निशानामा।’

अमेरिकाले शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको थियो।
त्यसपछि पनि ट्रम्पले आइतबार इरानलाई शान्तिको बाटोमा नआए अझ ठूला आक्रमण गरिने चेतावनी दिएका थिए।
उनले भनेका थिए, ‘या त अब शान्ति हुनेछ या इरानका लागि विपत्ति आउनेछ, जुन पछिल्ला आठ दिनमा देखिएका घटनाभन्दा धेरै ठूलो हुनेछ।’
अहिले उनले सामाजिक सञ्जालमा लेखेको कुरा शनिबारकै आक्रमणको हो वा नयाँ कुरा, त्यो भने स्पष्ट छैन।
उता इरानले भने शनिबारको आक्रमणले खासै ठूलो क्षति नपुगेको दाबी गरिरहेको छ।
Shares

प्रतिक्रिया