रुसले इरानमा अमेरिकाले गरेको आक्रमणको कडा निन्दा गरेको छ।
अमेरिकाले शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानमा रहेका आणविक केन्द्रमा बम हमला गरेको हो।
जसबारे रुसको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘रुस इरानका धेरै आणविक केन्द्रमा गरिएका अमेरिकी आक्रमणको कडा निन्दा गर्दछ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी आक्रामकता तुरुन्तै रोक्न आह्वान गर्छौं र स्थितिलाई शान्तिपूर्ण र कूटनीतिक बाटोमा फर्काउन प्रयास तीव्र पार्न माग गर्छौं।’
यसअघि चीनले पनि इरानमा अमेरकी आक्रमणको कडा निन्दा गरेको छ।
इजरायलसँग युद्ध गरिररहेको इरानमा अमेरिकाले शनिबार राति हमला गरेको हो।
इरानस्थित फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
इरान अझै शान्तिको बाटोमा नआए थप ठूला हमला गरिने चेतावनी ट्रम्पले दिएका छन्।
यसैबीच संयुक्त राष्ट्रसंघले इरानमा अमेरिकाको आक्रमणप्रति गम्भीर चिन्ता प्रकट गरेको छ।
सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ।
यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।
उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ।
यहीबीच अमेरिकाले पनि इरानमा आक्रमण थालेको हो।
Shares

प्रतिक्रिया