इरानले इजरायलसँग जारी लडाइँमा अमेरिकाको कुनै पनि प्रकारको हस्तक्षेप भए त्यसले धेरै खतरनाक परिस्थिति सिर्जना गर्ने चेतावनी दिएको छ।
इरानका विदेशमन्त्री अब्बास अरागचीले इस्तानबुलमा पत्रकारसँग कुरा गर्दै अमेरिका सुरुदेखि नै यस आक्रमणमा संलग्न रहेको आरोप पनि लगाए।
अनि चेतावनी दिँदै भने, ‘इजरायल र इरानबीच जारी द्वन्द्वमा अमेरिकाको कुनै पनि प्रकारको हस्तक्षेप धेरै खतरनाक साबित हुन सक्छ।’
यस्तै उनले इरानका जनतामाथि भइरहेको बम विस्फोटका बीच अमेरिकासँग वार्ता गर्न सम्भव नभएको पनि बताए।
उनले भने, ‘हाम्रा जनता बम विस्फोटको सामना गरिरहेको अवस्थामा हामी अमेरिकासँग कुनै पनि प्रकारको वार्ता गर्न सक्दैनौँ।’
यद्यपि कूटनीतिक संवादका लागि भने आफूहरू तयार रहेको पनि उनले बताए।
यसै हप्ता अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमण गर्ने योजना अनुमोदन गरेका थिए। तर इरानले आफ्नो आणविक कार्यक्रम त्याग्न सहमत हुने आशामा यो स्थगन गरिएको थियो।
इरानका विदेशमन्त्रीले भने, ‘हामी हाम्रो आणविक कार्यक्रममा सम्झौता गर्न पूर्ण रूपमा तयार छौँ। कूटनीतिले विगतमा काम गरेको छ र यो विधि भविष्यमा पनि काम गर्न सक्छ। वार्ताको टेबलमा आउन यो आक्रामकता रोक्नु महत्त्वपूर्ण छ।’
जुन १३ देखि इरान र इजरायलबीच युद्ध जारी छ। एकअर्काविरुद्ध हवाई हमला गरिरहेका छन्। यसबीच दुवैतर्फ धेरै जनाको मृत्यु भइसकेको छ भने कैयाैँ घाइते भएका छन्।
Shares

प्रतिक्रिया