ग्लोबल


भारतसँग युद्धविरामका लागि हामीले अनुरोध गरेको होइन: पाकिस्तान

भारतसँग युद्धविरामका लागि हामीले अनुरोध गरेको होइन: पाकिस्तान

नेपालखबर
असार ७, २०८२ शनिबार ८:२८, काठमाडौँ

पाकिस्तानले गत मे महिनामा दुई देशबीच भएको युद्धविराम आफ्नो अनुरोधमा भएको थियो भन्ने भारतको दाबीलाई अस्वीकार गरेको छ।

पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारतीय मिडियाले युद्धविरामका लागि पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिनेटर इशाक डारले भारतसँग अपिल गरेको भनी गरेको दाबी खण्डन गरेको हो। 

विज्ञप्तिमा भनिएको छ, ‘भारतको कारबाहीपछि पाकिस्तानले युद्धविरामको माग गरेको भन्ने दाबी हामी पूर्ण रूपमा अस्वीकार गर्छौं।’

बरु भारत र पाकिस्तानबीच युद्धविराम ल्याउन साउदी अरेबिया र अमेरिकाले महत्त्वपूर्ण भूमिका खेलेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सम्पूर्ण घटनाले देखाउँछ- पाकिस्तानले युद्धविरामका लागि कसैलाई पनि आग्रह गरेको छैन। १० मे २०२५ मा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक डारलाई फोनमा जानकारी गराए- यदि पाकिस्तान चाहन्छ भने भारत युद्धविरामका लागि तयार छ। पाकिस्तानले यसमा सहमति जनाएको मात्र हो।’

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार रुबियोको फोन बिहान ८:१५ बजे आएको थियो र बिहान ९ बजेतिर साउदी विदेशमन्त्री राजकुमार फैसलले पनि इशाक डारलाई फोन गरेर भारतका विषयमा सोही जानकारी दिएका थिए।

यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको फोन वार्ता भएको जानकारी दिएका थिए। त्यस क्रममा मोदीले ट्रम्पलाई स्पष्ट रूपमा भारतले अमेरिकाको मध्यस्थतामा नभई पाकिस्तानकै अनुरोधमा युद्धविराम गरिएको दाबी गरेका थिए। 

तर अमेरिकाका राष्ट्रपति ट्रम्पले आफ्नो पहलका कारण भारत र पाकिस्तानबीच युद्ध रोकिएको दाबी गरिरहेका छन्। 

गत अप्रिल २४ (वैशाख ११) भारत प्रशासित जम्मु-कश्मीरको पहलगाममा २६ जना पर्यटकको हत्या भएपछि यो आतंकवादी आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै भारतले मे ७ मा हमला सुरु गरेपछि दुई देशबीच हानाहान भएको थियो। 

तर मे १० तारिख साँझ मे ७ मा भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad