राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कवीन्द्र बुर्लाकोटी महामन्त्री र मनीष झालाई प्रवक्ता बनाएको छ।
तेस्रो स्थापना दिवसको उपलक्ष्यमा शनिबार बिहान बसेको रास्वपा केन्द्रीय समितिको बैठकले यसअघि कार्यवाहक महामन्त्री रहेका बुर्लाकोटीलाई महामन्त्री र कार्यवाहक प्रवक्ता रहेका झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
बैठकले कार्यवाहक हटाएर बुर्लाकोटीलाई महामन्त्री र आफूलाई प्रवक्ता बनाएको झाले जानकारी दिए।
शुक्रबार मात्र निर्वाचन आयोगले रास्वपाको महामन्त्री अझै मुकुल ढकाल रहेको अभिलेख सार्वजनिक गरेको थियो।
त्यसको भोलिपल्ट शनिबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीबाट महामन्त्री नै बनाएको हो।
बैठकका निर्णय विस्तृत रूपमा अहिले बिहान ११ बजे सार्वजनिक गरिने जानकारी रास्वपाका नवनियुक्त प्रवक्ता मनीष झाले दिएका छन्।
रवि लामिछानले २०७९ असार ७ गते राष्ट्रिय सभा गृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। तर निर्वाचन आयोगमा दर्ता असार १७ गते मात्र गरिएको थियो।
हाल सभापति लामिछाने भने सहकारी मुद्दामा रुपन्देही जिल्ला कारागारमा छन्।
Shares

प्रतिक्रिया