भारतस्थित बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको सुरत जाने विमान आईएक्स२७४९ मा चढ्ने क्रममा एक महिलाले हंगामा मच्चाएकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार बेंगलुरुको येलहंकाकी ३६ वर्षीय यात्रु व्यास हिरल मोहनभाईले आफ्नो सामान चालक दलको क्याबिन नजिकैको प्रतिबन्धित क्षेत्रमा राखिन्। उनलाई सामान आफ्नो सिटभन्दा माथिको डिब्बामा राख्न भनिएको थियो। तर उनले मानिनन्।
जब चालक दलका सदस्यहरूले आपत्ति जनाउँदै क्याबिन नजिकको प्रतिबन्धित क्षेत्रबाट सामान हटाउन भने।
तर ती महिला अस्वीकार गर्दै चिच्याउन थालिन्।
हिरलले चालक दलसँग मात्र होइन, हस्तक्षेप गर्न खोज्ने अन्य यात्रुसँग पनि झगडा गरिन्।
एफआईआर अनुसार, उनले आफ्नो सामान हटाइएमा विमान दुर्घटना गराउने धम्की दिइन्। यसलाई गम्भीरतापूर्वक लिँदै एयरलाइन्सले विमान उडाउनुअघि नै उनलाई जहाजबाट ओरालिदियो।
यसपछि ती महिला यात्रुलाई विमानस्थल प्रहरीलाई बुझाइयो।
हिरल मोहनभाईको आक्रामक व्यवहार प्रहरी चौकीमा पनि जारी रह्यो, जहाँ उनले एक महिला कर्मचारीलाई आक्रमण गर्ने प्रयास गरेको आरोप छ।
केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी चौकीमा भारतीय दण्ड संहिताको धारा ३५१ (४) र ३५३ (१) (ख) अन्तर्गत आपराधिक धम्की र सार्वजनिक उपद्रव निम्त्याउने कुरा गरेको आरोपमा उनीविरुद्ध एफआईआर दर्ता गरिएको छ।
घटनाको अनुसन्धान जारी छ।
Shares

प्रतिक्रिया