इरानले इजरायलविरुद्ध जवाफी हमला सुरु गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले इजरायलतर्फ १०० भन्दा बढी ड्रोन प्रहार गरेको हो।
टाइम्स अफ इजरायलका अनुसार, आईडीएफले इरानले चाँडै नै ठूलो क्षेप्यास्त्र आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।
आज बिहान इजरायलले २०० लडाकु विमानसहित इरानमा आक्रमण गरेको थियो।
न्युयोर्क टाइम्सका अनुसार, इजरायली सेनाले तेहरान वरपरका कम्तीमा ६ सैन्य अड्डालाई निशाना बनाएको हो।
यी ६ स्थानमध्ये ४ स्थानमा आणविक अड्डा पनि छन्।
इजरायलले शुक्रबार बिहानै इरानमा गरेको आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डर हुसेन सलामीसहित अहिलेसम्म पाँच जनाको मृत्यु पुष्टि भएको छ।
यसमा सलामीका अलावा खातम-अल-अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर घोलामाली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी छन्।
साथै आक्रमणमा आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी, आणविक वैज्ञानिक र तेहरानको इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि मारिएका छन्।
आईआरजीसीका कमान्डर हुसेन सलामी मारिएलगत्तै इरानले उनको स्थानमा कुड्स फोर्सका पूर्वप्रमुख जनरल वाहिदीलाई नियुक्ति गरेको छ। कमान्डर पदमा नियुक्तिलगत्तै जनरल वाहिदीले इजरायललाई आक्रमणको जवाफ दिन आदेश जारी गरेका थिए।
Shares

प्रतिक्रिया