बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले आफ्ना जेठा छोरा तेजप्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेका छन्।
लालु यादवले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत दिएको जानकारीअनुसार अबदेखि पार्टी र परिवारमा तेजप्रतापको कुनै पनि प्रकारको भूमिका हुने छैन।
उनले लेखेका छन्, ‘निजी जीवनमा नैतिक मूल्य-मान्यताहरूलाई बेवास्ता गर्नाले सामाजिक न्यायका लागि हाम्रो सामूहिक संघर्षलाई कमजोर बनाउँछ। जेठो छोराका गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्य-मान्यता र परम्पराअनुरूप छैन।’
लालु यादवले अगाडि लेखेका छन्, ‘त्यसैले माथिका परिस्थितिहरूका कारण म उनलाई पार्टी र परिवारबाट हटाउँछु। अबदेखि पार्टी र परिवारमा उनको कुनै पनि प्रकारको भूमिका हुनेछैन। उनलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ।’
लालुका जेठा छोरा तेजप्रताप हसनपुरका विधायक हुन् र हाल माल्दिभ्सको भ्रमणमा छन्।
यसैबीच शनिबार साँझ तेज प्रतापको फेसबुक अकाउन्टमा उनी एक युवतीसँग देखिएका थिए। जसमा उनीहरूबीच १२ वर्षदेखि चिनजान रहेको रहेको लेखिएको थियो।
यस विषयमा कमेन्टको बाढी आएपछि पोस्ट हटाउँदै तेज प्रताप यादवले एक्समा लेख्दै आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको बताए। साथै उनले आफ्नो बदनाम गर्न कसैले षड्यन्त्र गरेको दाबी पनि गरे।
तर त्यतिन्जेलसम्म राजनीतिक वृत्तमा पनि टिप्पणी सुरु भइसकेको थियो। यो घटनाले आफ्नो पार्टी र परिवारको बदनाम भएको भन्दै लालु यादवले छोरोलाई कारबाही गरेका हुन्।
तेजप्रतापले सन् २०१८ मा पूर्वमुख्यमन्त्री दरोगा प्रसाद रायकी नातिनी तथा पूर्वमन्त्री चन्द्रिका रायकी छोरी ऐश्वर्यासँग बिहे गरेका थिए। तर केही महिनापछि नै उनीहरू सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगे। हाल यो मुद्दा पारिवारिक अदालतमा विचाराधीन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
Shares

प्रतिक्रिया