ग्लोबल


पोल्यान्डमा आज राष्ट्रपतिको चुनाव

पोल्यान्डमा आज राष्ट्रपतिको चुनाव

नेपालखबर
जेठ ४, २०८२ आइतबार १४:५७, वारसा (पोल्यान्ड)

पोल्यान्डमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। हालका राष्ट्रपति आन्द्रेज डुडाको दोस्रो कार्यकाल आगामी ६ अगस्टमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो।

पोल्यान्डमा राष्ट्रपति अधिकतम दुई कार्यकाल मात्र रहने संवैधानिक व्यवस्था छ।

आज बिहान ७ बजदेखि साँझ ९ बजेसम्म १८ वर्ष माथिका लगभग २ करोड ९० लाख पोलिश मतदाताले राष्ट्रपतिका कुनै एक उम्मेदवारलाई मतदान गर्नेछन्।

निर्वाचनमा राष्ट्रपति पदका मुख्य दुई उम्मेदवारबी प्रतिस्पर्धा हुने बताइएको छ। जसमा सत्तारूढ सिभिक गठबन्धनको तर्फबाट राफाल ट्राजास्कोवस्की तथा अर्को मुख्य विपक्षी दल कानुन र न्याय समर्थित स्वतन्त्र उम्मेदवार कारोल नवोरोस्की छन्।

रूस-युक्रेन युद्ध, आप्रवासन, गर्भपतन अधिकार र अर्थतन्त्रजस्ता मुख्य मुद्दालाई सबै उम्मेदवारले उठाएका छन्।

पोल्यान्डको संविधानअनुसार उम्मेदवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गरेमा विजय हुन्छन्। यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जनाका लागि दोस्रो चरणको मतदान हुनेछ।

विभिन्न सर्वेक्षणले देखाए अनुसार चुनाव दोस्रो चरणमा जाने भएमा आगामी जुन १ मा पोल्यान्डले नयाँ राष्ट्रपति पाउनेछ।

जसले आगामी ६ अगस्टबाट आफ्नो  कार्यकाल सम्हाल्ने छन्।

संविधान अनुसार पोल्यान्डमा शक्ति प्रधानमन्त्री र संसदमा निहित हुन्छ। तर राष्ट्रपतिले भिटो प्रयोगसहित सैन्य र विदेश नीतिमा ठूलो प्रभाव पार्न सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad