एकपटक फेरि दक्षिण एसियाका चिर शत्रु भारत र पाकिस्तान विध्वंसकारी युद्ध टार्न सफल भएका छन्। चार दिनको लडाइँपछि शनिबार साँझबाट लागू भएको युद्धविराम गराउन अनेकौँ मुलुकले सहयोग गरेका छन्। तर, प्रमुख भूमिका अमेरिकाको देखिन्छ।
युद्धविरामको पहिलो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे। उनले अमेरिकी मध्यस्थतामा यो सम्झौता भएको बताए।
त्यसलाई पाकिस्तानी विदेशमन्त्री इसाक दारले पुष्टि गरे। उनले यो समझदारी गराउन तीन दर्जन मुलुक संलग्न भएको बताए। उनले टर्की, साउदी अरब र अमेरिकाको नाम लिए।
त्यसपछि भारतका तर्फबाट विदेशसचिव विक्रम मिश्रीले यसलाई पुष्टि गरे। उनले ५ बजेबाट युद्धविराम लागू हुने जानकारी दिए। भारत र पाकिस्तानका अधिकारीहरूबीच सोमबार कुरा हुने बताइएको छ। तर, भारतीय अधिकारीहरूले अमेरिकाको भूमिकालाई कम देखाउने प्रयत्न गरेका छन्।
जे भए पनि दुवै देशका लागि रक्तपात र संकट टरेको छ। त्यसैले उनीहरू आफूतिर फर्केर क्षति र उपलब्धि जोख्न सक्छन्। र, कमजोरी सुधार्नतिर लाग्न सक्छन्।
तर, त्यसभन्दा पनि जरुरी कुरा, चार दिनको यो द्वन्द्वले दुवैलाई जित दाबी गर्ने मौका दिएको छ।
पाकिस्तानी सेनाले भारतीय आक्रमणलाई विफल तुल्याउन सफल भयौँ भन्ने दाबी गर्न सक्छ।
दुई वर्षअघि मात्र पाकिस्तानमा सेनाविरुद्ध विशाल प्रदर्शन भएका थिए। राजनीतिमा हस्तक्षेप गरेको भन्दै इमरान खानका समर्थक सेनाविरुद्ध उभिएका थिए। त्यसैले पाकिस्तानी सेना बदनाम हुँदै गएको थियो।
भारतसँग तनाव चुलिएपछि भने सिंगो देश सेनाको पछाडि उभियो। त्यस हिसाबले यो लडाइँबाट पाकिस्तानी सेनालाई ठूलो फाइदा भएको देखिन्छ।
उसो त भारतलाई पनि फाइदै छ। उसले २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलाको बदला लिन हिच्किचाएनौँ भन्न सक्छ। किनकि आणविक हतियार भएको पाकिस्तानलाई कस्मिरभन्दा भित्र घुसेर उसले प्रहार गर्यो। जुन १९७१ यताको पहिलो घटना थियो।

तर, यहाँनेर सायद भारतले एउटा पाठ पनि सिकेको हुनुपर्छ। आर्थिक, राजनीतिक र अन्य क्षमताका हिसाबले पाकिस्तान निकै कमजोर हुँदाहुँदै पनि उसको हवाइ शक्ति भने टक्करको रहेछ। जसका कारण ‘अप्रेसन सिन्दूर’ विनाक्षति सम्पन्न गर्न भारतले सकेन नै, पाकिस्तानलाई चाहेजति चोट पनि पुर्याउन सकेन। बरु, झन्डै दुई देशबीच विध्वंसकारी युद्धको स्थिति आइपर्यो।
युद्धविरामले दुवै पक्षलाई ‘फेस सेभिङ’को मौका दिएको नयाँदिल्लीस्थित इन्टरनेसनल सेन्टर फर पिस स्टडिजका अध्येता मोहमद वसिम मल्ल बताउँछन्।
‘दुवै देशले पत्रकार सम्मेलनहरूमा तनाव कम गर्ने जिम्मेवारी अर्को मुलुकको काँधमा सारे। यसले के संकेत गर्छ भने यो युद्धविरामले दुवै पक्षलाई ‘फेस सेभिङ’को मौका दिएको छ। जसले उनीहरूलाई युद्धको सँघारबाट पछि हट्ने र स्थिरता कायम गर्ने मौका दिन्छ,’ मल्लले भने।
त्यस्तै, यसले लामो समयदेखि संवाद टुटाएका भारत र पाकिस्तानबीच कूटनीति र संवादको ढोका पनि खोलेको छ। यद्यपि, त्यस्तो संवादले निरन्तरता पाउने ठूलो आशा गर्न भने कठिन छ। एजेन्सी
Shares

प्रतिक्रिया