बिहीबार पाकिस्तानले ड्रोन र क्षेप्यास्त्रद्वारा आफ्ना तीनवटा सैन्य अड्डामा हमला आरोप भारतले लगायो। जसलाई इस्लामावादले तत्कालै अस्वीकार गर्यो। शुक्रबार पनि भारतले पाकिस्तानले ४ वटा ड्रोन आक्रमण भएको दाबी गरेको छ।
उता पाकिस्तानले २५ वटा भारतीय ड्रोन खसाएको दाबी गर्यो। यसबारे दिल्ली मौन रह्यो।
यो जस्तालाई तस्तै हानाहानले भारत र पाकिस्तानबीच दशकौँ पुरानो दुस्मनीलाई झनै खतरनाक चरणमा पुर्याएको छ। किनकि अब पहिलेझैँ उनीहरूले एकअर्कामाथि तोपगोला मात्र बर्साइरहेका छैनन्, तारन्तार ड्रोन हमला पनि गरिरहेका छन्।
खासमा, ड्रोनको प्रयोगले भारत–पाकिस्तान द्वन्द्वको नयाँ अध्याय सुरु गरेको छ।
‘भारत–पाकिस्तान द्वन्द्व एउटा नयाँ ड्रोन युगमा प्रवेश गरेको छ। जहाँ ‘अदृश्य आँखा’ र मानवरहित अचुक निसानाले संयम वा तनावको फैसला गर्नेछ। त्यसकारण जसले ड्रोन युद्धमा बाजी मार्यो, उसले युद्ध जित्ने छ,’ यूएस नेवल वार कलेजका प्राध्यापक जहारा मातिसेक भन्छन्।
भारतले प्रयोग गरेको ड्रोन इजरायलमा निर्मित हारोप भएको बताइएको छ। भारतले पाकिस्तानका कयौँ हवाइ प्रतिरक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।
पछिल्ला वर्षहरूमा लेजर गाइडेड क्षेप्यास्त्र तथा बम, ड्रोन र मानवरहित विमानहरू युद्धका प्रमुख हतियार बनेका छन्। यिनले आफ्नो पक्षका मानिसको ज्यान जोखिममा नपारी दुस्मनमाथि अचुक निसाना लगाएर सैन्य कारबाहीलाई चुस्त बनाउँछन्।
त्यसमाथि ड्रोनलाई दुस्मनको हवाइ प्रतिरक्षा प्रणालीलाई झुक्याउन पनि प्रयोग गरिन्छ। पहिले ड्रोनलाई पठाइन्छ। जसले गर्दा दुस्मनको रेडार प्रणाली सक्रिय हुन्छ। अनि ती प्रणाली ध्वस्त पार्न अरु ड्रोन वा क्षेप्यास्त्र प्रहार गरिन्छ।
‘युक्रेन र रुसले युद्धमा यही गरिरहेका छन्। दोहोरो काम गर्ने हुनाले ड्रोन शक्तिशाली बनेको छ,’ मातिसेक भन्छन्।

विज्ञहरूका अनुसार भारतको ड्रोन इजरायली प्रविधिमा आधारित छ। हारोपले अलग्गै विस्फोटक पदार्थ बोकेर लैजाने र आफैँ क्षेप्यास्त्रजसरी निसानामा ठोक्किएर विस्फोट हुने, दोहोरो काम गर्छ।
अर्को हेरोन नामक ड्रोन पनि भारतसँग छ। जसले शान्तिकालमा निगरानीको काम गर्छ। आईएआई सर्चर एमके २ नाम ड्रोन १८ घण्टा र ३०० किमि टाढासम्म उड्न सक्छ।
भारतसँग अत्यधिक मात्रामा ड्रोन नभएको विज्ञहरू बताउँछन्। हालै भारतले अमेरिकासँग ३१ वटा एमक्यू–९बी ड्रोन ४ अर्ब डलरमा किन्ने सम्झौता गरेको छ। जुन ४० घण्टासम्म ४ हजार फिटको उचाइमा उड्न सक्छ।
भारतले सानासाना ड्रोन ठूलो संख्यामा पठाएर दुस्मनको प्रतिरक्षा प्रणाली अस्तव्यस्त तुल्याउने दाउपेच पनि विकास गररहेको छ।
पाकिस्तानसँग पनि धेरै र अनेक खालका ड्रोन छन्। आफैँले बनाएको र आयात गरिएको प्रविधिमा आधारित ड्रोन रहेको रक्षा विश्लेषक एजाज हैदर बताउँछन्।
पाकिस्तानमा एक हजारभन्दा धेरै ड्रोन रहेको उनको भनाइ छ। जसमा चिनियाँ, टर्किस र घरेलु उत्पादन समेत छ।
जसमध्ये चिनियाँ सीएच–४, टर्कीको बेराक्तर र पाकिस्तानकै बुराक र शहपार नामक ड्रोन उल्लेखनीय छन्।

हैदरका अनुसार पाकिस्तानको वायु सेनाले एक दशकयता ड्रोनलाई सैन्य कारबाहीमा एकीकृत गर्ने काम गरिरहेको छ।
प्राध्यापक मातिसेक भन्छन्, ‘इजरायली प्राविधिक सहयोग र हारोप तथा हेरोन ड्रोन आपूर्ति भारतका लागि निर्णायक छ भने टर्किस र चिनियाँ ड्रोनमा पाकिस्तानको निर्भरताले जारी हतियारको प्रतिस्पर्धालाई स्पष्ट पार्छ।
अहिले भारत र पाकिस्तानबीच ड्रोन हानाहान भइरहे पनि त्यो रुस–युक्रेन युद्धमा देखिएको भन्दा अलग खालको भएको विज्ञहरूको छ। युक्रेनमा सैन्य कारबाहीको केन्द्रीय तत्व नै ड्रोन बनिसकेको छ। दुवै पक्षले हजारौँ ड्रोन निगरानी र प्रहारमा प्रयोग गरिरहेका छन्।
‘फाइटर जेट वा ठूला क्षेप्यास्त्रको सट्टामा ड्रोन खटाउनु अलि तल्लो तहको सैन्य विकल्प हो। मान्छेले चलाउने विमानले भन्दा ड्रोनले कम हतियार बोक्छ। त्यसैले एक हिसाबले ड्रोन हान्नु भनेको संयमित चाल हो। तर, त्यो बृहत् हवाइ आक्रमणको सुरुवात मात्र हो भने फेरि बिल्कुलै अलग कुरा हो,’ भारतीय रक्षा विश्लेषक मनोज जोशी भन्छन्।
एजाज हैदर हालै पाकिस्तानले प्रहार गरेको ड्रोन पूर्ण क्षमताको प्रतिशोध नभई तत्कालको उत्तेजनाको जवाफ मात्र भएको बताउँछन्।

‘वास्तविक प्रतिशोधको हमलामा दुस्मनलाई झट्का दिने प्रयास हुने थियो,’ उनी भन्छन्।
युक्रेन युद्धमा ड्रोनले लडाइँको प्रकृति नै बदलिदिएको छ। जबकि भारत–पाकिस्तान द्वन्द्वमा यसको भूमिका सीमित र प्रतीकात्मक हुने विश्लेषकहरूको आकलन छ। दुवै मुलुकले क्षेप्यास्त्र प्रहार गर्न मानवचालित विमान प्रयोग गरेका छन्।
‘हामीले देखिरहेको ड्रोन युद्ध लामो समय टिक्दैन। यो ठूलो द्वन्द्वको सुरुवात मात्र हुन सक्छ। तनाव घट्ने या चर्किने दुवै संकेत यसले गर्न सक्छ,’ जोशी भन्छन्।
‘ड्रोनले द्वन्द्व चर्काउने खतरा कम गर्दै निगरानी र आक्रमण गर्ने विकल्प दिन्छ,’ मातिसेक भन्छन्, ‘तर, ड्रोनले द्वन्द्व चर्काउने नयाँनयाँ बहाना पनि दिन्छ। खसाइएको हरेक ड्रोन, ध्वस्त पारिएको हरेक रडार लडाइँको बहाना बन्न सक्छ।’ एजेन्सी
Shares

प्रतिक्रिया