अस्ट्रेलियामा भएको चुनावमा मध्य–वामपन्थी प्रधानमन्त्री एन्थोनी अल्बानिजले दोस्रोपटक विजय हासिल गरेका छन्। महिनौँसम्म सर्वेक्षणहरूमा पछाडि रहेका उनले अचानक चुनाव जिते।
उनले चुनाव जित्नमा डोनाल्ड ट्रम्पको हात रहेको विश्लेषकहरू बताउँछन्। यससँगै अस्ट्रेलिया पनि ती मुलुकहरूको सूचीमा चढेको छ, जहाँको चुनावलाई अमेरिकी राष्ट्रपति ट्रम्पको विदेश नीति र अभिव्यक्तिले प्रभावित तुल्याएको छ।
ठिक यही नतिजा गत साता क्यानडामा देखिएको थियो। जहाँ ट्रम्पसँग रिसाएका मतदाताले लिबरल पार्टीका मार्क कार्नीलाई रोजेका थिए।
अमेरिकामा ट्रम्प निर्वाचित हुँदा विश्वभरका दक्षिणपन्थीहरू खुसी भएका थिए। उनीहरूलाई लागेको थियो– ट्रम्पका कारण उनीहरूको प्रभाव बढ्नेछ। तर, कयौँ मुलुकमा त्यसको उल्टो नतिजा देखिन थालेको छ। अस्ट्रेलियादेखि ग्रिनल्यान्डसम्म जहाँको चुनावी राजनीतिमा ट्रम्प मुख्य ‘फ्याक्टर’ बनिरहेका छन्, त्यहाँ ट्रम्पको नक्कल गर्ने दक्षिणपन्थीहरूलाई धक्का लागेको छ भने ट्रम्पको विरुद्ध खडा हुने पार्टी तथा नेता मतदाताको रोजाइमा परेका छन्।
अस्ट्रेलिया
कन्जरभेटिव पार्टीका नेता पिटर डटन ६ महिनादेखि अल्बानिजभन्दा अगाडि देखिन्थे। तर, मे ३ को चुनाव नजिकिँदै जाँदा उनी पछि पर्न थाले। शनिबार लेबर पार्टीले चुनाव जित्यो। संसदमा सिट बढायो र डटन आफै पराजित भए।
डटनले पटकपटक ट्रम्पको नक्कल गर्ने गरेका थिए। चीनविरुद्ध उग्ररूपमा प्रस्तुत हुने उनी पूर्वजासुस हुन्। उनले सरकारको असक्षमता समाप्त गर्ने वाचा गरेका थिए। जसको कारण ‘डोजी डटन’ उपनाम समेत कमाएका थिए। उनले सरकारी निकाय र स्कुलमा लागू गरिएको सांस्कृतिक विविधता तथा समावेशिता कार्यक्रम अन्त्य गर्ने वाचा पनि गरेका थिए।
तर, ट्रम्पले विश्वभर भारी भन्सार महसुल लगाएपछि अस्ट्रेलियामा पनि उनी अलोकप्रिय भए। यससँगै डटन पनि पछि पर्न थाले।

विश्वभर व्यापार व्यवस्था खलबलिएपछि चुनावी प्रतिस्पर्धामा अल्बानिजको अवस्था सुधार भयो।
अस्ट्रेलियाविरुद्ध कर लगाएपछि अल्बानिजले भने, ‘कुनै मित्रले यस्तो काम गर्दैन।’
चुनाव जितेपछि शनिबार विजय भाषणमा अल्बानिजले डटन र ट्रम्पप्रति लक्षित गर्दै भने, ‘हामीले कसैसँग भीख माग्न, सापटी लिन वा नक्कल गर्न आवश्यक छैन। हामी प्रेरणाका लागि विदेशतिर हेर्दैनौँ। हाम्रा लागि प्रेरणा हाम्रै मूल्यमान्यता र जनतामा छ।’
क्यानडा
गत साता मात्र प्रधानमन्त्री मार्क कार्नी र उनको लिबरल पार्टीले चुनाव जित्यो। त्यो पनि फराकिलो अन्तरले पछि परेको स्थितिलाई उल्ट्याउँदै। यसमा पनि ट्रम्पको व्यापार युद्ध अनि क्यानडालाई अमेरिकामा मिसाउने धम्कीले ठूलो भूमिका खेलेको छ।
‘मैले महिनौँदेखि चेताउँदै आएको छु,’ विजय भाषणमा कार्नीले भने, ‘अमेरिका हाम्रो भूमि, हाम्रो स्रोतसाधन, हाम्रो पानी, हाम्रो देश चाहन्छ। यो फगत धम्की होइन। राष्ट्रपति ट्रम्प हामीलाई फुटाउने कोसिस गरिरहेका छन्, ताकि अमेरिका हाम्रो मालिक बन्न सकोस्।’
ट्रम्पले बारम्बार क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने धम्की दिँदै आएका छन्। उनले क्यानडाविरुद्ध भारी कर पनि घोषणा गरेका छन्। चुनावकै दिन बिहान पनि क्यानडा कब्जा गर्ने धम्की दिँदै सामाजिक सञ्जालमा लेखेका थिए।
अप्रिल २८ को चुनावभन्दा केही महिनाअघिसम्म सर्वेक्षणहरूमा दक्षिणपन्थी पपुलिस्ट नेता पियर पोलिएभ अगाडि देखिन्थे। तर, ट्रम्पको आक्रामक विदेशनीतिका कारण थुप्रै क्यानडेलीहरू क्रुद्ध भए। किनकि पोलिएभ ट्रम्पकै नक्कल लाग्छन्। सोही कारण केही महिनामै क्यानडाको मतदाताको मन फेरियो र राष्ट्रवाद बलियो बन्यो।

अर्कोतिर, जस्टिन ट्रुडोले छाडेपछि प्रधानमन्त्री बनेका कार्नीले भने ट्रम्पप्रति क्यानडेलीहरूको चिन्तालाई उपयोग गरे।
ग्रिनल्यान्ड
ग्रिनल्यान्डको चुनावभन्दा तीन महिनापहिले र सत्ता पनि नसम्हाल्दै ट्रम्पले ग्रिनल्यान्ड अमेरिकाले कब्जा गर्नु अति आवश्यक भएको बताएका थिए।
त्यसपछि लगातार उनले ग्रिनल्यान्ड कब्जा गर्ने बताइरहे। त्यसैले यो विषय त्यहाँको चुनावको प्रमुख मुद्दा बन्यो। तत्कालीन प्रधानमन्त्री म्युट एग्डले भनेका थिए, ‘ग्रिनल्यान्ड बिक्रीमा छैन।’
संसदले विदेशी र अपरिचित दाताबाट पार्टीलाई चन्दा लिन पनि प्रतिबन्ध लगायो। चुनावभन्दा केही दिनअघि मात्र पाँचै पार्टीका नेताहरूले संसदमा ट्रम्पप्रति एकमतले अविश्वास प्रकट गरे।
अहिले यन्स फ्रेडरिक नेल्सन प्रधानमन्त्री बनेका छन्। उनले ग्रिनल्यान्डलाई कसैले किन्न नसक्ने बताएका छन्।
जर्मनी
जर्मनीमा चुनावभन्दा अगाडि ट्रम्प प्रशासनका अधिकारीहरूले खुलेआम चरमपन्थी आप्रवासीविरोधी एएफडी पार्टीलाई जिताउन आह्वान गरेका थिए। सो पार्टीलाई जर्मन गुप्तचर निकायले अतिवादी संगठनका रूपमा वर्गीकृत गरेको छ।
इलोन मस्कले डिसेम्बर २० मा लेखेका थिए, ‘एएफडीले मात्रै जर्मनीलाई बचाउन सक्छ।’ उनले एक्समा एएफडीको प्रचार गर्न ७० भन्दा बढी पोस्ट गरे।
उपराष्ट्रपति जेडी भान्सले एएफडीका प्रमुख एलिस वाइडेललाई भेटे। र, भाषणमा पनि अमेरिकी रिपब्लिकन पार्टीको राजनीतिक विचारधारा युरोप निर्यात गर्ने कोसिस गरे।
यसबाट जर्मनीका नेताहरू क्रुद्ध भए। चुनावको एक साताअघि उनीहरूले ट्रम्प प्रशासनले आफ्नो घरेलु मामिलामा हस्तक्षेप गरेको आरोप लगाए।
तर, चुनाव हुँदा एएफडी २० प्रतिशत मत पाउँदै दोस्रो भयो।
चुनाव जितेर अब चान्सलर बन्ने तयारीमा रहेका क्रिस्चियन डेमोक्र्याटिक पार्टीका फ्रेडरिक मर्जले एकएक कदम गर्दै युरोपले अमेरिकाबाट स्वतन्त्रता प्राप्त गर्नुपर्ने बताएका छन्।
तर, अन्य केही देशका चुनावमा ट्रम्पको प्रभाव दक्षिणपन्थीहरूका लागि सकारात्मक पनि परेको छ। बेलायतको दक्षिणपन्थी रिफर्म पार्टीले यसैसाता स्थानीय चुनावमा ऐतिहासिक नतिजा हात पारेको छ।
रोमानियामा चरम राष्ट्रवादी जर्ज सिमियोन राष्ट्रपतिको चुनावमा अगाडि देखिन्छन्। उनले ट्रम्पलाई समर्थन गरेका छन्।
इक्वेडरमा भर्खरै राष्ट्रपतिको चुनाव दोस्रोपटक जितेका डेनियल नोबोआ ट्रम्पनिकट छन्।
र, अझै कयौँ मुलुकमा चुनाव नजिकिँदैछ। दक्षिण कोरियाले जुनमा राष्ट्रपति चुन्दैछ, जुलाईमा जापानमा माथिल्लो सदनको चुनाव हुँदैछ। यी दुवै अमेरिकाका निकट मुलुक भएकाले ट्रम्पको असर त्यहाँको चुनावमा पनि पर्ने नै छ। एजेन्सी
Shares

प्रतिक्रिया