कम्तीमा २७ जनाको ज्यान जाने गरी मंगलबार जम्मु-कश्मीरमा आतंकवादी हमला भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरेबिया (यूएई) भ्रमण छोट्याएर स्वदेश फर्केका छन्।
मोदी मंगलबार नै साउदी अरबको दुईदिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए।
उनले जम्मु-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आक्रमणलाई 'आतंकवादी आक्रमण'का रूपमा उल्लेख गर्दै भनेका छन्, 'आक्रमणमा संलग्नहरूलाई छाडिने छैन।'
राजधानी दिल्ली पुग्नेबित्तिकै मोदीले आपत्कालीन बैठक राखेर परिस्थितिबारे जानकारी लिएका छन्।
समाचार एजेन्सी एएनआईका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग यस विषयमा छलफल गरिएको हो।
केन्द्रीय गृहमन्त्री अमित शाह यसअघि नै कश्मीर पुगिसकेका छन्।
मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा एक नेपालीसमेत कम्तीमा २७ जना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपालले पनि उक्त आतंकवादी हमलाको कडा शब्दमा निन्दा गर्दै भारतप्रति ऐक्यबद्धता जनाएको छ।
जम्मु-कश्मीरमा भएको आतंकवादी हमलापछि भारतको राजधानी दिल्लीमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।
Shares

प्रतिक्रिया