भारतीय राज्य कर्नाटकका पूर्वप्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाशको हत्याको आरोप उनका श्रीमती र छोरीलाई लागेको छ।
यस घटनामा उनका छोरा कार्तिकेषको उजुरीका आधारमा प्रहरीले एफआईआर दर्ता गरेको छ।
कार्तिकेष भन्छन्, ‘आमा पल्लवी र बहिनी कृति डिप्रेसनबाट पीडित थिए र हरेक दिन बुबासँग झगडा गर्थे।’
उनले आफ्नो उजुरीमा भनेका छन्, ‘मेरो बुबाको हत्यामा उनीहरू दुवै संलग्न छन् भन्ने मलाई बलियो शंका छ।’
६८ वर्षीय ओम प्रकाश २०१५ देखि २०१७ सम्म कर्नाटकका प्रहरी महानिर्देशक थिए। उनको हत्याले प्रहरीलाई चकित पारेको छ।
कर्नाटक राज्यको इतिहासमा सेवानिवृत्त डीजीपी स्तरका अधिकारीको हत्या भएको यो पहिलोपटक हो। उनी १९८१ ब्याचका आईपीएस अधिकारी थिए।
बेंगलुरुका एसीपी विकास कुमारले बीबीसी हिन्दीसँग भनेका छन्, ‘आमा र छोरी दुवैलाई प्रहरी चौकीमा सोधपुछ भइरहेको छ। हामीले उनीहरूलाई अहिलेसम्म पक्राउ गरेका छैनौँ किनभने उनीहरूले हामीलाई भनेका सबै कुरा हामी प्रमाणित गरिरहेका छौँ। यसमा स्वास्थ्यसम्बन्धी जानकारी पनि छ।’
नाम नछाप्ने सर्तमा अर्का प्रहरी अधिकारीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘उनका श्रीमती र छोरी दुवैले अहिलेसम्म हत्या स्वीकार गरेका छैनन्। यद्यपि, घरमा त्यतिबेला अरू कोही बाहिरी व्यक्ति नभएकाले हत्यामा उनीहरूमध्ये एक वा दुवै संलग्न भएको आशंका छ।’
कर्नाटकका पूर्वप्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाशको आइतबार बेंगलुरुस्थित आफ्नै निवासमा मृत फेला परेका थिए।
Shares

प्रतिक्रिया