भारतको हरियाणा राज्यअन्तर्गत गुरुग्राममा रहेको मेदान्ता अस्पतालमा ४६ वर्षीया एअर होस्टेस भेन्टिलेटरमा हुँदा त्यहीँका कर्मचारीले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ।
पीडितको जाहेरीका आधारमा गुरुग्राम प्रहरीले अनुसन्धान सुरु गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला कम्पनीका तर्फबाट तालिमका लागि गुरुग्राम आएकी थिइन् र एउटा होटलमा बसिरहेकी थिइन्। यस क्रममा उनी बिरामी परेपछि निजी अस्पतालमा भर्ना भएकी थिइन्।
पीडितले प्रहरीलाई बताएअनुसार अप्रिल ६ मा उपचारका क्रममा भेन्टिलेटरमा रहँदा अस्पतालका कर्मचारीले उनलाई यौन दुर्व्यवहार गरेका थिए। भेन्टिलेटरमा भएकाले उनले केही बोल्न सकिनन् र धेरै डराइन्।
महिलाले जाहेरीमा लेखेअनुसार घटनाका बेला उनी बेहोस थिइन्। उनका वरिपरि दुई नर्स पनि थिए।
डिस्चार्ज भएपछि उनले आफ्नो पतिलाई यौन दुर्व्यवहारको बारेमा बताइन् र घटनाविरुद्ध प्रहरीमा जाहेरी दिइन्।
दोषी पत्ता लगाउन प्रहरी टोलीले अस्पतालको सीसीटीभी क्यामेराको फुटेज जाँच गरिरहेको छ। प्रहरी टोलीले चाँडै नै अभियुक्तको पहिचान गरी पक्राउ गरिने बताएको छ।
यसैबीच अस्पतालले विज्ञप्ति जारी गरी पीडितलाई न्याय र दोषीलाई कारबाहीका लागि अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएको छ।
यसका लागि सीसीटीभी फुटेजसहित आवश्यक कागजात प्रहरीलाई हस्तान्तरण गरेको अस्पतालले उल्लेख गरेको छ।

Shares

प्रतिक्रिया