बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मंगलबार आफ्नो पार्टी अवामी लिगका कार्यकर्ता र समर्थकलाई अनलाइन सम्बोधन गरेकी छन्।
शेख हसिना हाल भारतमा छिन्। विद्यार्थीको विशाल आन्दोलन खेप्न नसकेपछि गत वर्ष अगस्ट ५ का दिन हसिना १५ वर्षदेखिको सत्ता त्याग्दै बंगलादेश छाडेर भारत भाग्न बाध्य भएकी थिइन्।
बंगलादेशले उनको सुपुर्दगीको माग गरिरहेको भए पनि भारतले सुनुवाइ गरेको छैन।
यसैबीच हसिनाले मंगलबार आफ्नो पार्टी अवामी लिगका कार्यकर्ता र समर्थकलाई अनलाइन सम्बोधन गरेकी हुन्।
सम्बोधन क्रममा हसिनाले बंगलादेशमा अवामी लिगलाई प्रतिबन्ध लगाउने मागको विरोध गरिन्।
यसअघि पनि हसिनाले अनलाइन माध्यमबाट आफ्ना पार्टी कार्यकर्तालाई सम्बोधन गरिसकेकी छन्।
मंगलबार के-के भनिन्?
शेख हसिनाले आफ्नो सम्बोधनमा भनिन्, ‘कसैले पनि बिर्सनु हुँदैन कि बंगबंधु शेख मुजिबुर रहमानले अवामी लिगमार्फत बंगालका जनतालाई एकताबद्ध गरेका थिए र देशमा स्वतन्त्रता ल्याए।’
सम्बोधनमा हसिनाले बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको पनि आलोचना गरेकी छन्।
उनले भनेकी छन्- मोहम्मद युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश छैन।
शेख हसिनाले युनुसले विदेशी कोष प्रयोग गरेर 'सुव्यवस्थित योजना'मार्फत सत्ता प्राप्त गरेको आरोप लगाएकी छन्।
उनले भनेकी छन्, ‘उनीहरूले के नसोच्दा हुन्छ भने सबै कुरा छाडेर म देशबाट भागेँ। संविधानअनुसार जनताबाट निर्वाचित प्रतिनिधि र संसद्का सदस्यहरूबाट चुनिएको उम्मेदवारका रूपमा मै बंगलादेशको प्रधानमन्त्री हुँ। उनको सत्ता (मुहम्मद युनुसको अन्तरिम सरकार) को कुनै वैधता छैन।’
शेख हसिनाको यस्तो भाषणमा बंगलादेशबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
हेर्नुहोस् हसिनाको अनलाइन सम्बोधन:
Shares

प्रतिक्रिया