भारतीय राज्य उत्तर प्रदेशको मेरठमा पतिको हत्या घटनामा मुस्कान र उनका प्रेमी साहिललाई मेरठ जेलमा राखिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मर्चेन्ट नेभीका पूर्वअधिकारी सौरभ हत्या काण्ड अनुसन्धानका क्रममा उनीहरूलाई मेरठ जिल्ला कारागार (हिरासत) पठाइएको हो। उनीहरू मार्च १९ मा पक्राउ परेका थिए।
हिरासतमा उनीहरू नशालु पदार्थ लिन नपाएकाले चिन्तित र बेचैन देखिएका छन्। साहिलको स्वास्थ्य पनि बिग्रिएको छ। दुवै जनालाई मनोपरामर्श दिइएको बताइएको छ।
मुस्कान गर्भवती भएको खबर आइरहेको बेला जेल सुपरिटेन्डेन्टले उनको गर्भावस्था परीक्षण चाँडै गरिने बताएका छन्।
जेल स्रोतका अनुसार दुवैलाई छुट्टाछुट्टै हिरासतमा राखिएको छ। मुस्कान आफ्नो अनुहार छोपेर बसेकी छन्। उनी खाना र खाजा खाने बेला मात्र आफ्नो अनुहारबाट कपडा हटाउँछिन्।
मुस्कानले आफ्ना प्रेमी साहिलसँग मिलेर यही मार्च ३ तारिख आफ्ना पति सौरभको हत्या गरेकी थिइन्। अनि शवलाई टुक्रा-टुक्रा पारेर ड्रममा राखिन् र माथिबाट घोलिएको सिमेन्ट हालेर बन्द गरिन्।
यसबीच श्रीमान् मारेर मुस्कानले प्रेमीसँग होली खेलेको तथा जन्मदिन मनाएका भिडिओ फुटेज पनि सार्वजनिक भएका छन्।
Shares

प्रतिक्रिया